बिहीबार, वैशाख ६, २०८१

‘गाउँबाट आउने शिक्षितवर्गको पहिलो रोजाइ नै निजामती सेवा’

निजामतीमा प्रवेश गरेपछि यतै भविष्य बन्छ भनेर पनि आकर्षण बढेको छ । तर सहर-बजारमा बसे-हुर्केकाले भने लोकसेवालाई कमै पछ्याएको अवस्था छ ।

नेपालखोज २०७८ चैत २८ गते ९:५८

मधेस प्रदेशको रौतहट जिल्लाको प्रशासनिक नेतृत्व अहिले दैलेख डाँडापराजुलका कृष्णबहादुर शाहीको काँधमा छ । २०७८ असोज २५ गतेदेखि रौतहटको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शाही कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ शाहीलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा झन्डै २५ वर्ष बिताएका रौतहटका प्रजिअ शाही यसअघि जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअका रुपमा कार्यरत थिए । प्रजिअ शाही निजामती सेवा निजामती सेवामा काम गर्दा राजनीतिक हिसाबले सामान्यत: दबाब त आउने बताउँछन् । तर ती दबाब झेल्ने क्षमता आफूसँग रहेको पनि दाबी गर्छन् । ‘कहिलेकाहीँ विधि प्रक्रियाभन्दा बाहिरबाट पनि दबाब आउँछ । हामी कार्यालय प्रमुख भएर बस्दा विभिन्न खालका तत्त्वहरु हुन्छन् । कुनै गुन्डागर्दी शैलीमा बोल्ने हुन्छन् कुनै के हुन्छन्,’ प्रजिअ शाहीले नेपालखोजसँग भने, ‘दबाबहरु आउँछन् तर दबाब आयो भन्दैमा विधि प्रक्रियाभन्दा बहिर रहेर कसैलाई सेवा दिनैपर्ने बाध्यता आएको छैन । त्यो दबाब झेल्ने क्षमता मसँग छ भन्ने लाग्छ ।’
रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर शाहीसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ५२औं शृंखला :

हाइलाइट्स :
-जिल्ला प्रशासन कार्यालयमा जनशक्तिको कमी छ । जनसंख्या बढ्दो छ जनशक्ति पुरानै छन् । अहिले पनि नागरिकता लिनेको अत्यधिक चाप छ ।
-नागरिकतासम्बन्धी र अरु समस्या आयो भने र त्यही कार्यालयसँग सम्बन्धित छ भने त्यसलाई नियालेर अर्थात् गहिराइमा पुगेर समाधान कसरी गर्न सकिन्छ भनेर हामी समाधानतर्फ लाग्छौं ।
-निजामती सेवामा काम गर्दा सामान्यत: दबाब भन्ने कुरा त राजनीतिक हिसाबले आउँछ नै । तर कहिलेकाहीँ विधि प्रक्रियाभन्दा बाहिरबाट पनि दबाब आउँछ ।
-फर्स्ट कम फर्स्ट सर्भिस भन्छौं नि हामी । तथ्यांक राख्ने कुरा हुन्छन् । यो भएन भने प्रतिनिधि मानिस नआए सेवा नपाउने भन्ने पनि हुन्छ ।
-हामी बिहान ठीक समयमै र बेलुका पनि आएको सेवाग्राही सन्तुष्ट हुने गरी ६ बजेसम्मै सेवा दिने गर्छौं ।
-कलेज पढ्दा नै मेरो सरकारी जागिर खाने सोच थियो तर निजामतीमै भन्ने थिएन । नेपाल प्रहरी, सेनातर्फ पनि जान सक्थें । तर दुई-चार साथी संगतमा म निजामतीतर्फ लागेँ ।
-नयाँ पुस्तामा निजामती सेवातर्फ आकर्षण घट्ने क्रममा छैन । लोकसेवाले लिएको परीक्षामा बढ्दो संख्यामै आवेदनहरु परेको पाइन्छ । जिल्लामा पनि अस्थायी कर्मचारी माग हुँदा आवदेन दिनेको चाप हुन्छ । निजामती सेवाप्रति आकर्षण छ नै ।
-पहिला काठमाडौं नै धाउनुपर्ने वा सिंहदरबारबाटै आउनुपर्ने थियो । अहिले स्थानीय सरकार बनेको छ, त्यहाँ नीति निर्माण भएको छ, कार्यान्वयन भएको छ । घरदैलोमा भएको समस्या तत्काल एक घण्टाअगाडिको समस्या एक घण्टापछि अर्कै हिसाबले समाधान गर्न सकिने अवस्था छ ।
-नेपालको पछिल्लो राजनीति र दलीय गतिविधिलाई पनि नियाल्छु । पत्रपत्रिकाका समाचारहरु पढिरहेको हुन्छु । मेरो यो क्षेत्र भन्ने छैन । सबैतिर ध्यान दिइरहेको हुन्छु ।
-निजामती सेवाको डरलाग्दो कुरा सरुवा हो । न यसले सरकारलाई सजिलो बनाउँछ न कार्यालयलाई सहज हुन्छ । छिटो-छिटो सरुवा सबैलाई घाटाको विषय हो ।
-सीमामा के भइरहेका छन् भनेर हामी गुनासो सुन्नलगायत निगरानी राखिरहेका छौं । सकेसम्म हामी कन्ट्रेलमै छौं तर कस्तो समस्या छ भने यो जिल्लाको सिमाना छ । सीमासम्म नेपालीको घर छ उता सीमासम्म भारतीयको घर छ । १० मिटरको दूरीमा दशगजा पर्छ । कति स्थानमा दशजगा नेपाल र भारतीय दुवै पक्षले प्रयोग गरेको छ ।


सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
यो कार्यालय हेरेर हुन्छ । जिल्ला प्रशासन कार्यालय भन्नेबित्तिकै यहाँ नागरिकताको समस्या लिए आउनुहुन्छ । नागरिकतामा पनि प्रक्रिया नपुगेर अथवा नागरिकता पाउने प्रमाण आधार नभएका मानिसहरु समस्या लिएर आउँछन् । अर्को, जिल्ला प्रशासनबाट टोलीहरुले नागरिकता वितरण गरेका हुन्छन् । टोली जाँदा भिड भएकाले नागरिकमा गल्तीहरु भएका हुन्छन् । त्यो सच्याउन पनि हाम्रो प्रमाणहरु पेस गरेर सामान्य विवरणहरु सच्याउन आउनुहुन्छ । जिल्ला प्रशासनमा जनशक्तिको कमी छ । जनसंख्या बढ्दो छ जनशक्ति पुरानै छन् । अहिले पनि नागरिकता लिनेको अत्यधिक चाप छ । समस्या भनेको यिनै हुन् । पासपोर्ट, परिचयपत्रलगायत विषय लिएर आइरहनुहुन्छ । म विभिन्न कार्यालयमा विभिन्न पदमा रहेर काम गरेको छु । हाम्रो पहल जहिले पनि के रहन्छ भने कुनै व्यक्ति समस्या लिएर आउनेबित्तिकै सिरियस तरिकाले लिन्छौं । नागरिकतासम्बन्धी र अरु समस्या ल्यायो भने र त्यही कार्यालयसँग सम्बन्धित छ भने त्यसलाई नियालेर अर्थात् गहिराइमा पुगेर समाधान कसरी गर्न सकिन्छ भनेर हामी समाधानतर्फ लाग्छौं । मलाई के आत्मासन्तुष्टि लाग्छ भने जुनसुकै कार्यालय र जिल्लामा जाँदा स्थानीय समस्या, सेवाग्राहीको समस्या नेपाल सरकारको ऐन-नियममा बसेर कसरी समाधान गर्ने भन्नेतर्फ सकेसम्म प्रयास गर्छु ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
निजामती सेवामा काम गर्दा सामान्यत: दबाब भन्ने कुरा त राजनीतिक हिसाबले आउँछ नै । तर कहिलेकाहीँ विधि प्रक्रियाभन्दा बाहिरबाट पनि दबाब आउँछ । हामी कार्यालय प्रमुख भएर बस्दा विभिन्न खालका तत्त्वहरु हुन्छन् । कुनै गुन्डागर्दी शैलीमा बोल्ने हुन्छन् कुनै के हुन्छन् । दबाबहरु आउँछन् तर दबाब आयो भन्दैमा विधि प्रक्रियाभन्दा बहिर रहेर कसैलाई सेवा दिनैपर्ने बाध्यता आएको छैन । त्यो दबाब झेल्ने क्षमता मसँग छ भन्ने लाग्छ ।

सेवाग्राहीलाई सहज सेवा-प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
हाम्रा व्यवस्थापनका विभिन्न कुरा हुन्छन् । व्यवस्थित लाइन लाग्ने अथवा अगाडि आउनेले अगाडि, पछाडि आउने पछाडि सेवा पाउने भन्ने हुन्छ । फर्स्ट कम फर्स्ट सर्भिस भन्छौं नि हामी । तथ्यांक राख्ने कुरा हुन्छन् । यो भएन भने प्रतिनिधि मानिस नआए सेवा नपाउने भन्ने पनि हुन्छ । हामीले अफिसियल व्यवस्थापन पनि गरेका छौं साथै हामी बिहान ठीक समयमै र बेलुका पनि आएको सेवाग्राही सन्तुष्ट हुने गरी ६ बजेसम्मै सेवा दिने गर्छौं । हामीकहाँ तीन तहमा सेवा लिनुपर्ने हुन्छ । सुरुमा सेवाग्राही खरिदार र सुब्बासँग पुग्नुहुन्छ । प्रशासकीय अधिकृतसँग ठोकिनुहुन्छ । सेवाग्राहीलाई चित्त बुझ्दो उत्तर तलका कर्मचारीले दिएनन् भने जुनै सेवाग्राहीलाई पनि सहजै प्रजिअ भेट्ने पहुँच छ । कर्मचारीले समाधान गर्न नसकेको कुरा विधि-प्रक्रियाअनुसार यस्तो गर्नुहोस् यो यो डकुमेन्ट मगाउनुहोस् भनेर समाधानउन्मुख निर्णय र निर्देशन मैले गर्ने गरेको छु । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ नै नहुने विभिन्न सभा सम्मेलनमा जाने भनेर बाहिर निस्केको निस्कै गर्ने, सेवाग्राहीसँग भेट नहुने, तल्लो तहले जे भन्यो त्यो नै अन्तिम हुने यो किसिमको वातावरण हामीसँग छैन ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
हामी ग्रामीण परिवेशबाट आएका केटाहरु । दैलैखको डाँडापराजुलमा पर्छ मेरो घर । पहाडी भेक भएकाले त्यहाँको परिस्थिति के छ भने पढेपछि के गर्ने भन्यो भने दिमागमा सीधा नेपाल सरकारको जागिर खाने सोच आउँछ । कलेज पढ्दा नै मेरो यही सोच थियो तर निजामतीमै भन्ने थिएन । नेपाल प्रहरी, सेनातर्फ पनि जान सक्थें । तर दुई-चार साथी संगतमा म निजामतीतर्फ लागेँ । अब यता लागेपछि गरिब पिछडिएका, बोल्न नसक्ने, ग्रामीण परिवेशबाट आएका, बोल्न नसक्ने पहुँच नभएका व्यक्तिप्रति म विशेष ध्यान दिन्छु । किन भने म दुर्गम पहाडी क्षेत्रबाट आएकाले सहर, सरकारी कार्यालय, सरकारी हाकिम भन्नेबित्तिकै गाउँघरका मानिसहरु नबोल्ने खालको भएकाले त्यस्ता खालका आवाजलाई झन् छिटो समाधान गर्नुपर्छ भन्ने थियो मलाई ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
नयाँ पुस्तामा यसको आकर्षण घट्ने क्रममा छैन । लोकसेवाले लिएको परीक्षामा बढ्दो संख्यामै आवेदनहरु परेको पाइन्छ । जिल्लामा पनि अस्थायी कर्मचारी माग हुँदा आवदेन दिनेको चाप हुन्छ । निजामती सेवाप्रति आकर्षण छ नै । आकर्षण किन छ भने निजामती सेवा प्रवेश गरेपछि मानिसले आफ्नो भविष्य सुरक्षित भएको महसुस गर्छन् । निजामतीमा प्रवेश गरेपछि यतै भविष्य बन्छ भनेर पनि होला । सहर बजारमा बसे हुर्केकाले लोकसेवालाई कमै पछ्याएको अवस्था छ । सहर बजारमा जति पनि शिक्षित युवाहरु छन् उनीहरु बेलायत, अमेरिका, क्यानडा कुनै न कुनै हिसाबले पलायन भइरहेका छन् । गाउँबाट आउने शिक्षितवर्ग जुन छ उहाँहरुको पहिलो रोजाइ नै निजामती सेवा हो ।

संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
यसमा फरक छ । पहिला काठमाडौं नै धाउनुपर्ने वा सिंहदरबारबाटै आउनुपर्ने थियो । अहिले स्थानीय सरकार बनेको छ, त्यहाँ नीति निर्माण भएको छ, कार्यान्वयन भएको छ । घरदैलोमा भएको समस्या तत्काल एक घण्टाअगाडिको समस्या एक घण्टापछि अर्कै हिसाबले समाधान गर्न सकिने अवस्था छ । प्रदेश नजिकै छ । सेवा-प्रवाहको हिसाबले छिटो-छरितो छ । अधिकार पनि धेरै तल आइसकेको अवस्था छ । मान्छेको चाहना महत्त्वकांक्षा धेरै हुन्छ कतिसम्म स्थानीय तहले गरेका छन् त्यो विषय फरक हुन सक्छ । तर अधिकारको कुरा गर्दा सेवा-प्रवाहको कुरा गर्दा सेवा र अधिकार घर-दैलोमा आएको छ ।

फुर्सदमा कस्ता पुस्तक पढ्न रूचाउनुहुन्छ ?
एकेडेमिक कुरा गर्दा म कमर्स ब्याकग्राउन्डको मान्छे हो । कानुन पनि मेरो ब्याकग्राउन्ड हो । कानुनसँग सम्बन्धित र विशेषत: म कमर्सियल कुरालाई बढी ध्यान दिने गर्छु । आर्थिक गतिविधिलाई पनि ध्यान दिन्छु । नेपालको पछिल्लो राजनीति र दलीय गतिविधिलाई पनि नियाल्छु । पत्रपत्रिकाका समाचारहरु पढिरहेको हुन्छु । मेरो यो क्षेत्र भन्ने छैन । सबैतिर ध्यान दिइरहेको हुन्छु । जिओग्राफीमा अत्यन्त रुचि भएकाले जिओग्राफी पनि हेर्छु ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
निजामती सेवाको डरलाग्दो कुरा सरुवा हो । न यसले सरकारलाई सजिलो बनाउँछ न कार्यालयलाई सहज हुन्छ । छिटो-छिटो सरुवा सबैलाई घाटाको विषय हो । एउटा कर्मचारी निर्धक्क काम गर्ने वातावरण बनेर आयो भने उसले क्षमता देखाउने मौका पनि पाउँछ । जस्तै यति अवधि बस्ने थाहा पायो भने उसले योजना बनाएर काम गर्न पाउँछ । आएको दुई महिना भएको छैन कर्मचारी चिनेको छैन, पब्लिकलाई राम्रोसँग चिनेको छैन, भुगोल चिनेको छैन, सरकार परिवर्तनसँगै अथवा विभिन्न कारणमा सरुवा भयो भने कहीँको पनि विज्ञ नहुने हुन्छ । यो खालको छिटो-छिटो सरुवा नहुँदा राम्रो ।

रौतहट सीमा जोडिएको जिल्ला भएकाले तस्कर, चोरी-निकासी, अवैध कारोबारको अवस्था कस्तो छ ?
रौतहटमा जिल्ला करिब २३ किलोमिटर अन्तर्राष्ट्रिय सीमासँग जोडिएको साथै खुला सिमाना छ । खुला सिमानाले चोरी-निकासी पैठारीको समस्या हुने भएकाले सशस्त्र प्रहरी, नेपाल प्रहरी चौबीसै घण्टा तैनाथ छन् । सीमामा के भइरहेका छन् भनेर हामी गुनासो सुन्नलगायत निगरानी राखिरहेका छौं । सकेसम्म हामी कन्ट्रेलमै छौ तर कस्तो समस्या छ भने यो जिल्लाको सिमाना छ । सीमासम्म नेपालीको घर छ उता सीमासम्म भारतीयको घर छ । १० मिटरको दूरीमा दशगजा पर्छ । कति स्थानमा दशजगा नेपाल र भारतीय दुवै पक्षले प्रयोग गरेको छ । यस्तो हुँदा घरघरमा प्रहरी खटाउन नसक्ने भएकाले सिभिल प्रहरी खटाएर निगरानी गरिरहेका हुन्छौं । भन्सार छलीका विभिन्न सामान बरमद भइरहेको हुन्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
यहाँलाई धन्यवाद मेरो भनाइ राख्नुभयो । देशको समसामयिक विषयमा भन्दा पनि आफ्नो र प्रशासनिक क्षेत्रमै बोल्ने हो । प्रजिअको हिसाबले भन्नु पर्दा रौतहट जिल्लाको शान्ति-सुरक्षा, जिल्लाका अन्य घटनासँग म सम्बन्धित हुनुपर्ने हुन्छ । समय दिनुभयो मेरो भनाइ राख्नका लागि यहाँलाई पुन: धेरै-धेरै धन्यवाद ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले मधेस प्रदेशको रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

बाबुराम अर्याल, प्रजिअ, बाजुरा – ‘एकाधबाहेक सबै समस्या समाधान गरेको छु’

प्रतिक्रिया