एकल महिला र विदुरलाई मासिक भत्ता
नेपालखोज
२०७८ चैत २८ गते १३:१६

काठमाडाैं । यहाँका दुई स्थानीय तहले एकल महिला तथा विदुर एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले मासिक भत्ता दिइने जनाएका छन् ।
पनौती नगरपालिकाले मासिक भत्तास्वरुप एकल महिलालाई दिइसकेको छ । पैंतीस वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक रु दुई हजारका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो ।
नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताए । उनका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो ।बञ्जाराले भने, ‘दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौं ।’
पनौतीमा अविवाहित महिला १४९ हुनुहुन्छ भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला हुनुहुन्छ । वितरित रु दुई हजारले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताए । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुनुहुन्छ । यस्तै तेमाल गाउँपालिकाले विदुर ९एकल पुरुष०लाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विदुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् ।पालिका प्रमुख सलामसिंह तामाङले भने, ‘एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौ।’ उनका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ । उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि-२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विदुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विदुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । संघीय सरकारले दलित बालबालिका, अपांगता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया