एमाले अध्यक्ष केपी ओलीले हलेसीमा रहेको मन्दिर र गुम्बालाई ४ लाख रुपैयाँ सहयोग गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरलाई दुई लाख र हलेसी मारतिका गुम्बालाई दुई लाख रुपैयाँ भेटी पठाएका छन् । गत चैत १९ गते एमालेले दिक्तेलमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न खोटाङ पुगेका अध्यक्ष ओलीले हलेसी मन्दिर तथा गुम्बा अवलोकन गरेपश्चात् भेटीस्वरुप मन्दिर र गुम्बालाई दान गर्ने घोषणा गरेका थिए ।
अध्यक्ष ओलीको घोषणा अनुसार रामनवमीको अवसर पारेर एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह-इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले सो रकम हस्तान्तरण गरेका छन् । एमालेले आइतबार मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डोमा लामालाई अध्यक्ष ओलीले पठाएको रकम हस्तान्तरण गरे ।
एमाले अध्यक्ष ओलीले पठाएको सहयोग रकम ग्रहण गर्दै गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लामाले ओलीको स्वास्थ्य दीर्घायुको कामना गरिन् । भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमार आचार्य, उपसचिव दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।
पत्नी राधिका शाक्यसँगै हलेसी मन्दिर दर्शन तथा मारतिका गुम्बा अवलोकन गरेका अध्यक्ष ओलीले हलेसीको धार्मिक, ऐतिहासिक र पौराणिक महत्वका बारेमा चर्चा गरेका थिए । प्रेस चौतारी नेपालले हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरेको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको सरकारले आवश्यक बजेट उपलब्ध गराएको समेत स्मरण गराएका थिए ।

प्रतिक्रिया