देशमा लगानी विस्तार वातावरण बनाउन इमान्दार भूमिका खेल्छु: सभामुख सापकोटा

नेपालखोज २०७८ चैत २८ गते १६:५४

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रहरुलाई आह्वान गरेका छन् । अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै उनले त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेकामा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा आज प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले भने, ‘हामीले दीर्घकालीन सोचका साथ काम गर्नुपर्छ । अल्पकालीन कार्यनीतिका पछाडि अलमल्लिनु हुँदैन ।’ सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया