माओवादी केन्द्र अब पार्टी रहँदैन केन्द्र मात्रै बाँकी हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वटा सत्तारुढ दल एक ठाउँमा उभिँदा पनि एमाले जत्रो नहुने दाबी गरेका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नरमाथि पोख्ने काम भएको आरोप लगाए ।
ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ । ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका हुन् । उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पूँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमालेसँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारबाही गर्छ ।’
उनले पाँच दलीय गठबन्धनप्रति पनि कटाक्ष गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन ! के हो पाँच दलीय गठबन्धन ? पाँच वटा बाख्रा एक ठाउँमा भए पनि भैंसीजत्रो हुँदैन होला नि ? ’
उनले गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तहमा खुसुक्क एमालेसँग मिल्न सुझाव पनि दिए । देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै उनले गठबन्धन गर्दैमा एमालेलाई पराजित गर्न नसक्ने बरु खुसुक्क एमालेसँग मिलेमा कुनै पालिकामा एमालेकै सहयोगमा जित हासिल गर्न सकिने अवस्था रहने प्रस्ट पारे । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनलाई बढावा दिएको आरोपसमेत लगाए ।
उनले सरकारले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए । उनले भने, ‘गठबन्धन सरकारले चुनाव रोक्ने कोसिस धेरै गरिसक्यो । अझै कानुन परिवर्तन गरेर, संसद अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजेको छ । स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको छ । यो गठबन्धन सरकार प्रतिगामी हो ।’
ओलीले वैशाख ३० को निर्वाचन व्यवस्थित र निर्भिकतापूर्वक सम्पन्न होस् भनेर आफूहरुले धेरै कुरा सहेको पनि प्रस्ट पारे । उनले भने, ‘अहिलेको सरकारले सत्तालाई अजम्बरी बुटी नसम्झिए हुन्छ ।’
वर्तमान सरकारले विकास आयोजना कटौती गरेको ओलीको आरोप छ । उनले वर्तमान सरकारलाई विकास निर्माणका काममा कुनै चासो नरहेको बताए । उनले भने, ‘बाटो बिराएर, सानो कुरामा चित्त दुखाएर, कसैको भ्रममा परेर एमाले छाडेर गएकाहरु आजै एमालेमा फर्किए पनि हुन्छ ।’
ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे । ओलीले भने, ‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा । एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’
ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताए । कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको उनको दाबी छ । उनले गठबन्धन सरकारलाई प्रतिगामी संज्ञा दिए । उनले भने ‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ लोकतन्त्र बुझाउनुहुन्छ । म आग्रह गर्न चाहन्छु, यसपालि त्यस्तो प्रयास नगर्नुस् । म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ । यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’
उनले एमाले अहिले एक कदम पछि हट्दैमा उत्साहित नहुन विपक्षीहरूलाई सुझाव दिएँ । एमालेसँग सिङ जुधाउन खोज्नेहरूको सिङ नै भाँचिने उनको चेतावनी छ । ओलीले भने ‘अब कुनै पार्टीलाई स्थानीय तहमा एक दुई वटा पद फुत्काउन मत छ भने खुसुक्क एमालेमा मिल्दा हुन्छ । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको हालत अब के हुन्छ ? पार्टी रहँदैन, केन्द्र मात्रै बाँकी हुन्छ । भाँडाभित्र केही रहँदैन, केन्द्र मात्रै । माकुनेले बनाएको पार्टी भन्ने गुट छ नि । त्यो झन् के होला ?’

प्रतिक्रिया