लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने

काठमाडौं । आरोही लाक्पा शेर्पाले १० औँ पटक सगरमाथाको आरोहण गर्ने भएकी छन् । आज काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि बिदाई गरेको हो ।
कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन् । १० औँ पटक हिमाल आरोहण गरे पछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास रहेको बताइन् ।
उनले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भूमिका खेल्न आवश्यक रहेको बताइन् । आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताइन् । लाक्पा १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा जाँदै छन्
संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण २००० सालमा गरेकी थिइन् । त्यसपछि क्रमशः २००१, २००३, २००४, २००५, २००७, २०१६, २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी छन् ।
उनले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गरेकी छन् । लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गरेकी छन् । १० औँ पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आरोही लाक्पा सबैभन्दा बढी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिलासमेत हन् ।

प्रतिक्रिया