‘निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्छ’

नेपालखोज २०७८ चैत २८ गते २०:०४

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७८ को संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले एक विशेष समारोहका बिच काठमाडौंमा समुदघाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुई पाङग्रा भएको बताए । आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग बिना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्नेमा सभामुखको जोड थियो ।

मुलुकको अर्थतन्त्र, रोजगारी, पूजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो । यो राष्ट्रका लागि तपाईहरुको योगदान कति महत्वपूर्ण छ, भन्ने कुरालाई आफूले राम्रो बुझेको भन्दै उनले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाए ।

सो अवसरमा महासंघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगदसहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

उदघाटन समारोहको अन्त्यमा धन्यवाद मन्तव्य दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भने, ‘लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा छ । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अव हामीले अवका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने छन्, सम्माननीय सभामुखज्यूमा यो अवसरलाई सदुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं ।’

वार्षिक साधारण सभाको समुदघाटन समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

उदघाटन पश्चात प्रतिस्पर्धी उत्पादनमुलक उद्योग, लगानी प्रवर्द्धन, तरलताका विषयमा विषयगत छलफलहरु आयोजना गरिएको थियो ।

प्रतिक्रिया