आइतबार, वैशाख २८, २०८२

रुस-युक्रेन युद्धको असर, संसारभर बढ्यो महँगी

नेपालखोज २०७८ चैत २९ गते २०:४१

किएभ । रूसले युक्रेनमाथि हमला गरेपछि अहिले यसको दुस्प्रभाव नेपाललगायत संसारभरका मुलुकले भोगिरहेका छन् । खासगरी संसारभर खाने पिउने चिजबिज तथा इन्धनको मूल्यले आकाश छोएको छ । कतिपय वस्तुभाउ बजारबाट गायब हुन थालेका छन् । कतिपय देशमा त महँगीका विरुद्ध मानिसहरु सडकमै आएर प्रदर्शन गरिरहेका छन् ।

जर्मनीका नागरिकहरुको गोजीमा पनि युक्रेन युद्धको असर देखापरिरहेको छ । जर्मनीको मुद्रास्फीति दर १९८१ पछि अहिले सर्वोच्च स्तरमा पुगेको छ । केन्याको नैरोबीका पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ । त्यहाँ तेल महँग‍ो मात्र भएको छैन आपूर्तिसमेत कम छ । यसको प्रत्यक्ष असर खाने-पिउने तथा दैनिक उपभोग्य सामग्रीहरुमा परिरहेको छ । रूस संसारकै सबैभन्दा ठूलो गहुँ उत्पादक हो ।

रूसी उत्पादनमाथि अमेरिका-नाटो आदिको प्रतिबन्धका कारण गहुँको आपूर्ति प्रभावित भएको छ । युक्रेन संसारका पाँच ठूला गहुँ उत्पादकमध्ये एक हो । युद्धमा होमिएका यी दुई ठूला गहुँ उत्पादकका कारण संसारका कैंयन् मुलुकमा पाउरोटी (ब्रेड) महँगो भएको छ । युक्रेन युद्ध सुरु भएयता इराकमा गहुँको मूल्यले आकाश छोएको छ । लिमामा प्रदर्शन, श्रीलंका संकटमा पेरूको राजधानी लिमामा महँगीका विरुद्ध प्रदर्शन गरिरहेका मानिस तथा पुलिसबीच झडपसमेत भएको छ ।

सरकारले केही समयका लागि कर्फ्यु लगाए पनि कर्फ्यु हटाइएलगत्तै फेरि प्रदर्शन सुरु भएको छ । श्रीलंका यतिबेला ऐतिहासिक आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ । पहिलेदेखि नै खराब देशको आर्थिक अवस्थालाई रुस-युक्रेन युद्धले थप संकटमा धकेलेको छ भने मानिसहरु सरकारविरुद्ध सडकमा छन् । यसैगरी स्कटल्यान्डमा समेत मानिसहरु महँगीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

बेलायतका ट्रेड युनियनहरुले बढ्दो महँगीको विरोध गरेका छन् । पहिले ब्रेक्जिट त्यसपछि कोभिड र अहिले रुसको युक्रेनमाथिको हमलाले बेलायतिहरुको पनि हालत खराब बनाएको छ । रुसबाट आउने ह्‌वाइट फिस तथा खाने तेल प्रयोग गर्ने बेलायतीहरु त्यसको मूल्यका कारण तर्सिएका मात्र छैनन् खानै छोडनुपर्ने अवस्थामा पुगेका छन् । गएको फेब्रुअरीमा युक्रेनको मुद्रास्फीति दर ६.२ प्रतिशत पुगेको थियो ।

प्रतिक्रिया