मंगलबार, वैशाख ४, २०८१

अस्ट्रेलियामा पनि स्वतन्त्र उम्मेदवारकै दबदबा !

नेपालखोज २०७९ जेठ ९ गते १७:२७

क्यानबेरा । नेपालको स्थानीय निर्वाचनका क्रममा काठमाडौं, जनकपुर, धरान, धनगढी आदि सहरमा स्वतन्त्र उम्मेदवारको दबदबा देखिएजस्तै अस्ट्रेलियाको संसदीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुले कैंयन् ठूला र नाम चलेका नेताहरुलाई हराएका छन् ।

नेपालका स्वतन्त्र उम्मेद्‌वारहरुले आफ्नो अलग छवि र मुद्दाका बलमा चुनाव जितेका छन् भने अस्ट्रेलियाका स्वतन्त्र उम्मेद्‌वारहरुले चाहिँ जलवायु परिवर्तनको मुद्दा अघि सार्दै आफूले चुनाव जिते जलवायु परिवर्तनको नीतिमा परिवर्तन ल्याउन काम गर्ने बताएका थिए ।

भिक्टोरिया प्रान्तको क्युरिअन्ग सिटमा अर्थमन्त्री जश फ्राइडेनबर्ग स्वतन्त्र उम्मेद्‌वार मोनीक रायनसँग चुनाव हारे । यसैगरी न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नीको हाई प्रोफाइल मानिने नर्थ सिड्नी सिटमा स्वतन्त्र उम्मेद्‌वार काइँली टिन्कले लेबर पार्टीका ठूला नेता ट्रेन्ट जिमरमानलाई हराइदिए ।

यसअघिको चुनावमा पूर्वप्रधानमन्त्री टोनी ऐबटलाई हराउने स्वतन्त्र सांसद जली स्टिगल यसपटक आफ्नो वारिंगाको सिट बचाउन सफल त भइन् नै साथै उनले आफ्नो भोट बढाउने काम पनि गरिन् । राजनीतिक समीक्षक एन्थोनी ग्रिनले एबीसी च्यानललाई बताएअनुसार , ‘यसपटक निर्वाचित धेरैजसो सांसद सुशिक्षित तथा प्रतिभाशाली छन् त्यसैले यसपटकको अस्ट्रेलियाको संसद् निकै रोचक हुनेछ ।’

अस्ट्रेलियामा यसपटक सत्तारूढ लिबरल-नेसनल पार्टीले निर्वाचनमा पराजय भोग्नुपर्यो । परिणाम स्वरुप नौ वर्षदेखिको लिबरल-नेसनल गठबन्धन अब सत्ताबाट सीधै विपक्षमा पुगेको छ भने पछिल्ला तीन निर्वाचनमा विपक्षमा रहँदै आएको लेबर पार्टीले अस्ट्रेलियामा नयाँ सरकार बनाउँदै छ । यसका लागि उसलाई अरु साना तथा स्वतन्त्र सांसदको समेत समर्थन चाहिनेछ । यद्यपि प्रधानमन्त्री लेबर नेता ५९ नेता वर्षीय एन्थोनी अल्बानिजी हुने कुरा भने तय छ ।

एन्थोनी अल्बानिजी अस्ट्रेलियाका ३१औं प्रधानमन्त्री हुनेछन् । १५१ सिट भएको संसद्‌मा उनको दल लेबर पार्टीले स्पष्ट बहुमत नपाए पनि सबैभन्दा ठूलो दल लेबर नै साबित भएको छ । कतिपय स्थानीय मिडियाले लेबर पार्टीले अल्पमतको सरकार बनाउन बाध्य हुनुपर्ने कुरासमेत बताएका छन् ।

अस्ट्रेलियाको संसद्‌को नयाँ संरचना हेर्दा अल्बानिजीको नेतृत्वको लेबर सरकारको कार्यकाल वा भविष्य स्वतन्त्र तथा साना दलहरुमा निर्भर रहने लगभग तय छ ।

को हुन् एन्थोनी अल्बानिजी
अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिजीले २०१९ मा लेबर पार्टीको कमान्ड सम्हालेका हुन् । त्यतिबेला उनको लेबर पार्टीले लगातार दोस्रोपटक चुनाव हारिसकेको थियो । चार दशकदेखि राजनीतिमा सक्रिय एन्थोनी अल्बानिजी बितेका दुई दशकदेखि सांसद निर्वाचित हुँदै आएका छन् । उनी दुईपटक केन्द्रीय मन्त्री तथा २०१३ मा एकपटक उप-प्रधानमन्त्रीसमेत भइसकेका छन् ।

सिड्नीमा जन्मिएका अल्बानिजीको बाल्यकाल अभाव र गरिबबीच बितेको थियो । उनलाई एकल आमाले सरकारद्वारा उपलब्ध गराइएको घरमा हुर्काएकी थिइन् । लेबर युनियनहरुमा उनको पकड मजबुत रहेको मानिन्छ । अर्थशास्त्रका छात्र अल्बानिजी छात्र जीवनदेखि नै राजनीतितर्फ आकर्षित थिए । उनी लेबर पार्टीको पनि वाम धुरिमा सक्रिय रहे ।

अल्बानिजीले चुनाव प्रचारका क्रममा महिलाहरुको बढी प्रतिनिधित्व, किफायती चाइल्ड केयर, मजबुत सार्वजनिक स्वास्थ्य व्यवस्था तथा प्रौढ नागरिकको राम्रो हेरचाहजस्ता कुरालाई प्राथमिकता दिएका थिए । प्रधानमन्त्रीका रुपमा उनका सामु चीनका साथ बिग्रिरहेको सम्बन्ध, बढ्दो महँगी तथा कोभिडको महामारीले बिगारेको अर्थव्यवस्थालाई सही बाटोमा ल्याउने जस्ता चुनौती छन् ।

प्रतिक्रिया