केपी ओलीले जिते संविधानसँगै गणतन्त्र नै जोखिममा पर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । मंगलवार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् ।
उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनु पर्ने बताए । अध्यक्ष दाहालले अहिलेको २१ औं शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीं शक्तिले जित्यो भने हामीले बलीदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।’

प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे । उनले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको पनि बताए । उनले भने, ‘एउटा प्रवृति छ, संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन । त्यो प्रवृति अहिले पनि तपाई हामीले देखिरहेका छौँ । कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन् । यस्तो परिस्थितिमा हामीले संविधानले र परिवर्तनले र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ नेपालको लागि । अहिलेको २१ औं शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज पनि छ । यसको प्रभावले हाम्रो विकास मोडेलमा के प्रभाव पार्छ रु नकारात्मक प्रभावहरु के छन् रु सकारात्मक र रचनात्मक के छन् रु भन्ने कुरामा गहिरो अध्ययन गरेर हामीले आफ्नै विकासको मौलिक मोडेलको विकास गर्न जरुरी छ । हामीले हाम्रो संस्कृति र मौलिकतालाई मध्यनजर गरेर मात्रै हाम्रो विकास गर्न आवश्यक छ ।’
अध्यक्ष दाहालले विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि बताए । कार्यक्रममा प्रचण्डले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गर्दै भने, ‘उहाँले धेरै राम्रो काम गर्नु भएको छ, अरु मन्त्रालयले पनि यस्तै गरी काम गरोस् ।’
सहरी विकासका लागि दीर्घकालीन रणनीति जरुरी भएको प्रचण्डले बताए । उनले आगामी दिनमा गठबन्धनका उम्मेदवारले चुनाव जितेर देश विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया