विदेशी मुद्राको सञ्चितीमा निरन्तर दवाव : वर्तमान सञ्चितीले ६ महिना सात दिन धान्ने

काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा निरन्तर दवाव परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार विदेशी मुद्राको सञ्चितीमा दवाव परेको देखिएको हो ।
प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव तीन प्रतिशतले कमि आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव पाँच प्रतिशतले कमी आई नौं अर्ब ५८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव दुई प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेक संंस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा शुन्य दशमलव नौं प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ ।
२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव दुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना चार दिनको वस्तु आयात र छ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव चार प्रतिशत, ५५ दशमलव छ प्रतिशत र २२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया