ऊर्जामन्त्री भुसाल र क्यानाडाका राजदूत म्याकेबीच शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच दुई देशबीच रहीआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानाडाले नागरिक उडड्यन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले क्यानाडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गराएकी छन्।

मन्त्री भुसालले नेपालको विकासमा क्यानाडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन् । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानाडा सहकार्य निरन्तर रहनेमा आशा गरेकी छन्।
त्यस अवसरमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताएका छन्। क्यानाडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र क्यानाडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहार्द्ध रहँदै आएको छ ।

प्रतिक्रिया