नेतृत्व बाँडफाँडको टुंगो लगाउने जिम्मा गठबन्धनको केन्द्रिय संयन्त्रलाई

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँडको टुंगो गठबन्धनको केन्द्रिय संयन्त्रले नै गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँड गरेर बैशाख ५ गतेभित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । बैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गतेभित्र टुंगो लगाउने निर्णय पनि गरेको छ ।
सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँड गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए । सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ ।

प्रतिक्रिया