खराब समय बित्यो, अब आउँदै छ प्लावा वर्ष

हामी सबै नयाँ वर्षको सुरुवात नयाँ कुराबाट होस् र वर्ष शुभ रहोस् भन्ने चाहना राख्छौं । अहिले सारा संसार कोरोना महामारी तथा युद्धको विभीषिकाबाट त्रस्त छ र यसबाट छुटकारा पाउन चाहन्छ । संसारको अर्थव्यवस्था सुदृढ होस् र त्यसको फाइदा आम जनतासम्म पुगोस् भन्ने नै अहिलेको चाहना हो । मानिसहरुलाई कामको चिन्ता नहोस्, बिजनेस बिग्रने डर नहोस् ।
मानिसहरु बिमारी नहुन् तथा बिरामी भए पनि राम्रो उपचार प्राप्त होस् । ज्योतिषशास्त्रको माध्यमबाट हाम्रो सनातन धर्मले यसमा केही आशाजनक कुरा देखाएको छ । हाम्रो सनातन धर्म वैज्ञानिक, व्यावहारिक तथा समावेशी पनि छ । हाम्रा ऋषिमुनिहरु उतिबेला नै विभिन्न माध्यम र विधिद्वारा सटिक भविष्यवाणी गर्थे ।आधुनिक समयका ग्याजेट तथा उपकरणहरु नभए पनि हाम्रा ऋषि मुनिहरुको भविष्यवाणी सत्य साबित हुन्थ्यो ।
यसक्रममा पूर्वीय ज्योतिष शास्त्रले आगामी वर्ष २०७९ का लागि हामीलाई आशाको केही किरण देखाएको छ । पूर्वीय पञ्चांग प्रणालीअनुसार, प्रत्येक वर्षको एउटा विशिष्ट नाम हुन्छ र प्रत्येक नामको एउटा अर्थ हुन्छ । संवत्सरको यो तालिका हरेक ६० वर्षपछि दोहोरिन्छ । ज्योतिषाचार्यहरुका अनुसार २०७७ को नाम वर्ष ‘विकारी’ थियो, जुन एउटा ‘बिमारी’ वर्ष बनेर गयो ।
यसैगरी वर्ष २०७८ को नाम ‘शर्वरी’ थियो जसको अर्थ अध्याँरो हुन्छ । यो वर्ष संसारले महामारी तथा युद्धको अध्याँरो भोग्नुपरिरहेको छ । ज्योतिष शास्त्रअनुसार अब ‘प्लावा’ वर्ष २०७९ सुरू हुँदैछ । ‘प्लावा’ को अर्थ हो ‘ त्यो- जसले हामीलाई पार लगाउँछ।’ यस अर्थमा यो संसार अब असहनिय कठिनाइ अनि दुखबाट पार हुँदैछ । यो कुरा वराह संहितामा उल्लेख छ । वराह संहिता अनुसार, प्लावा वर्षको तात्पर्य यो संसारले असहनिय कठिनाइहरुबाट पार पाउनु हो ।
यसले हामी पृथ्वी बासीलाई फेरि गौरवको स्थितिमा पुर्याउनेछ, हामीलाई अध्याँरो वर्षबाट प्रकाश तर्फ डोहोर्याउनेछ । यसैगरी यसपछि आउने वर्ष २०८० को नाम शुभक्रुत हो जसको अर्थ हुन्छ जसले शुभता उत्पन्न गर्छ । यसरी हेर्दा हिन्दु पंञ्चांग ज्योतिषले दुखका दिन समाप्त हुँदै आउने समयलाई शुभ मानेको छ । ज्योतिष शास्त्र भन्छ – अब हामी अगाडि हेर्नसक्छौं र एउटा राम्रो भविष्यको अपेक्षा गर्न सक्छौं ।
यसकारण शुभ हुनेछ नयाँ साल
-२०७७ : विकारी अर्थात बिमारी वर्ष
-२०७८ : शर्वरी अर्थात अध्याँरो वर्ष
-२०७९ : प्लावा वर्ष अर्थात जसले पार लगाउँछ ।
-२०८० : शुभक्रुत अर्थात शुभता ।
प्रतिक्रिया