शनिबार, जेठ ५, २०८१

जब चुनाव आउँछ !

अर्जुन पराजुली २०७८ चैत ३० गते १२:१२

जब चुनाव आउँछ
घरघरमा रेल आउँछ
घरघरमा पानीजहाज आउँछ
जब चुनाव आउँछ
रेल पनि जान्छ
पानीजहाज पनि जान्छ
मेरो गाउँमा-
चुनाव दिनका-दिन आउने हो भने
रेल पनि दिनका-दिन आउँथ्यो
पानीजहाज पनि दिनका-दिन आउँथ्यो !!

जब चुनाव आउँछ
विकासको बाढी आउँछ
बाढीले बगाएर
गाउँ एउटै बाँकी रहँदैन, बगर बनाउँछ
बगर बनेको ठाउँमा
फर्केर फेरि गाउँ आउँदैन
कसैको पछि लागेर सांघाई आउँछ
कसैको पछि लागेर सिंगापुर आउँछ
जब चुनाव जान्छ
सांघाई, रेल चढेर सांघाई नै जान्छ
सिंगापुर, पानीजहाज चढेर सिंगापुर नै जान्छ
मेरो गाउँमा-
चुनाव, दिनका-दिन आउने हो भने
सांघाई पनि दिनका दिन आउँथ्यो
सिंगापुर पनि दिनका-दिन आउँथ्यो !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया