शनिबार, जेठ ५, २०८१

‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो…’

श्रीहरि अर्याल २०७८ माघ १५ गते १३:४४

म २०१५ सालमा १० वर्षको थिएँ । धुले सडकमा एउटा जिप आउँथ्यो । त्यसमा गीत घन्काइएको हुन्थ्यो, ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो…।’

हामी केटाकेटी बेपरवाह त्यो जिपको पछाडि कुद्थ्यौं, शरीर धुलैधुलो हुन्थ्यो । त्यतिबेला बानेश्वरबाट सूर्यप्रसाद उपाध्याय निर्वाचनमा उठेका थिए । उनी नेपाली कांग्रेसबाट उमेद्वार थिए । मेरा मामा कृष्णप्रसाद पराजुली लगायतहरुबीच कसलाई भोट दिने भनेर छलफल हुन्थ्यो । हामी पिँढीमा बसेर ती कुरा सुन्थ्यौं । को कांग्रेस, को कम्युनिस्ट ? केही भेउ पाउँदैनथ्यौं ।

त्यतिबेला राजनीतिक चेतना पटक्कै थिएन । हामीलाई जिपको धुलो र गीत नै रमाइलो थियो । गाउँलेहरु ‘हामी त किसान, धानको बालालाई नै भोट दिनुपर्छ’ भन्न थाले । को उठेको छ, कसैलाई थाहा थिएन । धानको बाला केआई सिंहको पार्टीको चुनाव चिह्न थियो । यस क्षेत्रबाट लोचन शम्शेर जबराले चुनाव जिते । धानको बालासँग जोडिएकाले चुनाव जितेपनि उनी को हुन्, धेरैले चिन्दैनथे ।

त्यो बेलामा राणाहरुको चाकडी गर्ने र तिनै सेरोफेरोका मानिसहरुले मात्र जागिर पाएका हुन्थे । बानेश्वर राणाहरुका आठपहरिया बस्ने ठाँउका रुपमा चर्चित थियो । त्यो भन्दा पहिले मगरहरु रहेछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा उनीहरु काठमाडौं भित्रिएको हुनुपर्छ । १९८०/९० सालतिर काठमाडौंका कतिपय ठूलाबडाले मगरसँगै जग्गा किनेको कागजात भेटिन्छ ।

२०२४ सालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’ सुरु भएपछि गाउँहरुमा एउटा लहर आएको थियो । गाउँमा हुने खानेले फाट्टफुट्ट साइकल किन्न थालेका थिए । हाम्रो घर (पुरानो शिवदर्शन हल भएको ठाउँ) निर डिलमा बाटो थियो । लडे तल खेत वा बारीमा परिन्थ्यो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ सुरु भएपछि गाउँलेहरुले कुटो कोदालो लिएर ‘श्री ५ महाराजधिराज कि, जय’ भन्दै साइकलसम्म गुड्ने बाटो बनाए ।

बानेश्वरका दुई जना प्रख्यात कम्पाउण्डर (त्यतिबेलाका डाक्टर) हरु जुद्धबहादुर थापा र भक्तबहादुर बस्नेतले त्यसपछि साइकल चढेर घरघरमा पुग्न थाले । त्यसअघि बानेश्वरमा झारफुक नै एकमात्रै उपचार पद्धति थियो । कसैलाई केही भए ‘लाग्यो’ भन्थे । नाग लाग्यो भन्थे, विफर आए शितलाको पूजा गर्थे ।

कम्पाउण्डरद्वय थापा र बस्नेतले खोप लगाइदिन थाले । मानिसहरु बिरामी हुँदा अस्पताल जाँदैनथे, तर कम्पाउण्डरकहाँ जान, उनीहरुलाई बोलाउन थाले । त्योबेला सुविधा केही थिएन, बिरामीलाई अस्पताल भन्दा घाट लैजान सजिलो थियो ।

मैले धेरै बुढापाकाहरुसँग सोधेको, १९९० सालभन्दा अघि बानेश्वर(अहिलेको ३१ नम्बर वडा रहेको ठाँउभरमा)मा चार वटामात्र झिँगटीका छाना भएका घर रहेछन् । पुरै बानेश्वरभर १०/१२ वटाभन्दा बढी घर थिएनन् । माथि उल्लेख भएका श्यामबहादुर शाहको झिँगटीको घर थियो । अर्का कृष्णबहादुर गिरीको । उनको बानेश्वरमा यति जग्गा थियो कि भनिसाध्यै छैन ।

१९७५ अघि म्याट्रिक पास गर्ने जानकीदत्त लामिछाने र उनका दाजुभाइको पनि धेरै जग्गाजमिन थियो र घर पनि झिँगटीले छाएको । माधवप्रसाद कोइरालाको घर पनि झिँगटीले छाएको थियो । झिँगटीका घरवाला जानकीदत्त साइकल र अरु तीनजना घोडा चढ्थे रे ।

त्योबेला सबै घर माटोको डल्लाको चाङ लगाएर बनाइएका हुन्थे । अलि हुनेले काँचो इटाको घर बनाउथे । दुईतले घर मुश्किलले भेटिन्थे । परालको छाना हुन्थे । दायाँबायाँ गोठ र भकारो हुन्थ्यो । भकारो वरपर हात्तीका कानजस्ता साग हुन्थे । अनेक खाले तरकारी हुन्थे । तरकारी किन्ने कल्पनासम्म हुदैनथ्यो ।

२०३० सालमा मैले बिहे गरेपछि महाबौद्ध गएर एक बोरा चामल किनेको सम्झना छ । त्यतिबेला ट्याक्सी प्रचलनमा आइसकेको थियो, तर बानेश्वर आउन नमानेपछि भरिया लगाएर ल्याएको थिएँ । अरु सामान किन्न कि पाटनको मंगलबजार कि त असन/इन्द्रचोक पुग्नुपर्थ्यो । पुरानो बानेश्वर चोकमा पसलहरु भए पनि सबैथोक पाइन्थेन ।

त्यो बेलाका मानिसको आवश्यकता पनि धेरै थिएन । जुत्ता लगाउने चलन नै थिएन । दशैंमा बल्लतल्ल एकजोर नयाँ लुगा लगाउँथे । प्रायले लवेदा सुरुवाल लगाउथे ।

सुरुवालको घुँडाको भाग छिट्टै फाट्थ्यो अनि पुरानो लबेदाको भित्री फेर काटेर घुँडामा टालो हाल्थे । त्यसरी कपडा सिलाउन ठाउँठाउँमा दमाइ बसेका हुन्थे ।

कहिलेकाहीँ मासु खान मन लाग्दा धरहरा गए बूढी बाख्री पर्ला भन्ने हुन्थ्यो । त्यतिबेला हाम्रो छिमेकमा ‘ठूलो काले’ भन्ने हर्ताकर्ता थिए । उनले १५ दिन वा एक महिनामा खसी काट्थे अनि भाग लगाएर लिन बोलाउँथे ।

बानेश्वरमा धेरैले गाई पाल्थे । गाई चराउने ठाँउ नागलडोल थियो । त्यो भनेको अहिलेको स्टाण्डर्ड चार्टर बैंक रहेको ठाउँ र त्यसमुनिको धाप हो ।

अहिलेको पानीट्यांकी क्षेत्रमा पुग्दो पानी थियो, अरुतिर दुःख नै थियो । महादेवस्थानको बाणगंगा वा थापागाउँको धारामा गएर पानी ओसार्नुपर्थ्यो । त्यो बेला बानेश्वर क्षेत्रमा २५-२६ वटा ढुंगेधारा पनि थिए, अहिले धेरै मासिए । कसैको जग्गामा पानीको मूल रहेछ भने ढुंगेधारासम्म लैजान दिए ‘धर्म हुन्छ’ भन्थे ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट ।

प्रतिक्रिया