सोमबार, वैशाख १५, २०८२

आठ महिनामा संघीय सरकारले खर्च गर्‍यो छ खर्ब ७५ अर्ब रुपैयाँ

नेपालखोज २०७९ वैशाख १ गते १६:१८

काठमाडौं । संघीय सरकारले छ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसममा संघीय सरकारले कुल छ खर्ब ७५ अर्ब ३० करोड रुपैंयाँ खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ पाँच खर्ब ३८ अर्ब ४४ करोड रुपैंयाँ, पुँजीगत खर्चतर्फ ७७ अर्ब १५ करोड रुपैंयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको महालेखाको भनाई छ ।

चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा संघीय सरकारको कुल राजस्व भने छ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत परिचालन भएको महालेखाले जानकारी दिएको छ । यसमध्ये कर राजस्व तर्फ छ खर्ब २७ अर्ब ९० करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब ८० करोड परिचालन भएको छ । चालु आवको आठ महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत ३५ अर्ब र विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड परिचालन गरी ८९ अर्ब ५० करोड रुपैंयाँ आन्तरिक ऋण परिचालन गरेको जानकारी पनि महालेखाले जानकारी दिएको छ ।

महालेखाका अनुसार २०७८ फागुन मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब ३५ अर्ब ३३ करोड नगद मौज्दात रहेको छ । यो नगद मौज्दातमा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश गरिएको महालेखाको भनाई छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब अर्ब १८ करोड रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब नौं अर्ब २४ करोड रुपैंयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ७७ अर्ब ९९ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३१ अर्ब २४ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ६३ अर्ब ७९ करोड रहेको जानकारी पनि महालेखाले दिएको छ ।

प्रतिक्रिया