भूमिहीन सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको सुरुवात

नेपालखोज २०७९ वैशाख १ गते १८:५८

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भूमिहीन दलित, सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको सुरूवात भएको बताएकी छन् । आज जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन्

उनले यो कार्य अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिका अन्तर्गतको मुसहर बस्तीमा दलित समुदायहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको पनि जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले अनियन्त्रित खण्डीकरणको कारण कृषियोग्य जग्गा विनाश हुँदै गएको भन्दै यसको रोकथामको लागि भू-उपयोग नीति र भू-उपयोग ऐन, लागू भइ कार्यान्वयनमा आइसकेको र भू-उपयोग नियमावली पारित हुने चरणमा रहेको बताइन् ।

उनले नियमावली कार्यान्वयनमा आउँदा कृषि योग्य जग्गाको संरक्षण, सुरक्षित र व्यवस्थित बसोवास, वन, जंगललगायत प्राकृतिक श्रोतको संरक्षण र विकास, विपत् जोखिम न्यूनिकरण जस्ता कार्यमा सहयोग पुग्ने पनि बताइन् । मन्त्री श्रेष्ठले आफ्नो स्वामित्वमा जग्गा रहेका तर लालपूर्जा नहुँदा सम्पतिको अधिकारबाट वञ्चित नागरिकलाई सहज र सरलरुपमा घरमै पुगेर जग्गाधनी पूर्जा वितरण गरेको पनि बताइन् ।

प्रतिक्रिया