नेकपा (माओवादी समाजवादी) र जनसमाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति

नेपालखोज २०७९ वैशाख २ गते १६:५९

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी जनसमाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच आगामी बैशाख ३० गते हुने चुनावमा तालमेल गर्ने सहमति भएको छ । आज पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो । दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने, दुवै पार्टीको सहमतिमा उम्मेदवारहरु खडा गर्ने र एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ ।

त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन निर्देशन समिति गठन गर्ने पनि अर्को महत्वपूर्ण सहमति भएको छ । दुवै पार्टीका पदाधिकारीहरु रहनेगरि निर्वाचन परिचालन संयुक्त कार्यदल गठन गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले राष्ट्रघाती पाँच दलको गठबन्धनविरुद्ध दुई पार्टीबीच चुनावी तालमेल भएको बताए । पाँच दलको गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिँदै बुढाथोकीले राष्ट्रघाती गठबन्धनविरुद्ध आफुहरुले चुनावी तालमेलको सुरुवात गरेको र आफूहरुको विजयी सुनिश्चित् रहेको दाबी गरे ।

उनले आफ्नो पार्टी र जनसमाजवादी पार्टी नेपालले जनताको पक्षमा निरन्तर काम गर्दै आएको पनि स्मरण गराए । दुवै पार्टीले क्रान्तिकारी इतिहास बोकेको उनको भनाई थियो । अब दुई पार्टी गठबन्धन गरेर प्रतिबद्धतासहित जनतासामु जान लागिएको र यसले जनतामा उत्साह थप्ने पनि उनले विश्वास दिलाए । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबीच एकता नहोस भनेर पाँच दलीय गठबन्धन गरेको समेत अध्यक्ष बुढाथोकीले टिप्पणी गरे । उनले अब छिट्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वैज्ञानिक समाजवादको लागि एकता गर्ने पनि जानकारी दिए।

निर्वाचनको समयमा आफुहरुको गठबन्धनले साम, दाम दण्ड र भेदको विरुद्ध क्षेप्यास्त्र तयार गरेको उल्लेख गर्दै चुनावमा जीत/हार जे भएपनि आम जनतालाई आफूहरुले गोलबद्ध गर्न चाहेको उनले स्पष्ट पारे। उनले ठूला दलका नेताहरुलाई दलालको संज्ञा दिँदै उनीहरुलाई अब आउने निर्वाचनमा गाउँमा पस्न नदिन पनि आग्रह गर्ने बताए । दुई पार्टीबीच ऐतिहासिक गठबन्धन भएको उल्लेख गर्दै उनले आगामी दिनमा दुई पार्टीको सरसल्लाहमा गठबन्धन अघि बढ्ने बताए । उनले एकले अर्कालाई साथ दिने पनि प्रतिवद्धता गरे । आजको गठबन्धन चुनाव जित्नको लागि मात्र नभई आम वर्गको उत्पीडनको विरुद्ध भएको उनले जिकिर गरे।

यसैगरी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्लेले देशमा राष्ट्रघाती र राष्ट्रवादी गरेर दुई पक्ष भएको उल्लेख गर्दै आफुहरु राष्ट्रवादी कित्तामा उभिएको बताए । उनले दुई पार्टीबीचको गठबन्धन अत्यन्तै महत्वपुर्ण र ऐतिहासिक हुनेपनि बताए । उनले भने,‘अत्यन्तै छोटो समयमा दुई पार्टीबीच गठबन्धन भएको छ, यो गठबन्धन लामो समय टिकाउन सबैले कसरत गर्नुपर्छ ।’ गठबन्धनलाई सफल बनाउन निकै कसरत गर्नुपर्ने उनले धारणा राखे ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी समाजवादी) नेता तिलक थापा मगरले अहिलेको संसदीय व्यवस्थाको विकल्पमा जनताले अर्को व्यवस्था खोज्नुपर्ने बताए । उनले भने,‘अबको निर्वाचनमा नेपाली जनताले देश बेच्नेहरु, राष्ट्रियता बेच्ने र राष्ट्रहितको पक्षमा लाग्नेहरुको पहिचान गर्नुपर्छ । देश बेच्नेहरुलाई पनि जिताउने हो वा वैकल्पिक शक्तिलाई जिताउने हो ? यो अब जनताको हातमा छ ।’ उनले नेपाली कांग्रेसले कोशी, महाकाली, गण्डकजस्ता राष्ट्रिय सम्पत्ति बेचेको र कम्युनिष्टहरुले कांग्रेसलाई बेच्न सघाएको आरोप लगाए ।

नेपालका नेताहरुले देशलाई केही नगरेको भन्दै उनले लाखाैं युवाहरु अहिलेपनि श्रमको लागि विदेशिन बाध्य भएको सुनाए। नेपालमा उत्कृष्ट अध्ययन हुने संस्था नेताहरुले नबनाएकै कारण युवाहरु विदेश पढ्न जान बाध्यता भएको उनको आरोप छ।उनले जनताले देशको हितमा काम नगर्नेहरुलाई छानी छानी चुनावमा ती नेताहरुलाई दण्डित गर्नुपर्ने धारणा राखे । दुई पार्टीबीच आज चुनावी तालमेल गर्ने सहमति भएपनि कालान्तारमा पार्टी एकता गर्नेसमेत उद्देश्य लिएको उनले स्पष्ट पारे। दुई पार्टीबीच भएको सहमतिको सम्झौतापत्र पनि नेता थापाले वाचन गरेका थिए।

प्रतिक्रिया