आइतबार, वैशाख २३, २०८१

नयाँ वर्ष

सुजम्बर सम्भव २०७९ वैशाख ३ गते ६:५१

दशबुँदे प्रतिज्ञापत्रमा
हस्ताक्षर गरेको जड्याहा,
एक नम्बरको प्रतिज्ञा तोड्न
सखारै भट्टी पुग्यो,
र,कसरत गरायो बुद्धि बंगारालाई
बुद्धिविहीन सुकुटीमाथि हमला बोलेर
र, शान्त बनायो क्रान्तिकारी मनलाई
छोइला र अयलाले।

आउदो वर्षमा ढाट्दै ढाट्दिन भन्ने नेता
घाम झुल्किनसाथ ढाटी पठायो
भन्यो- समृद्धि नआउनुमा मेरो दोष पटक्कै छैन
यो देश बिग्रेको मैले गर्दा पटक्कै होईन।
घूस लिँदै लिन्नँ भन्ने कर्मचारीको छोराले
झिसमिसेमै नयाँ वर्षको उपहार माग्यो
उपहार नाथे के आफ्नो बेतनबाट किन्नु ?
हेर्न थाल्यो अदना सेवाग्राहीको बाटो ।

नयाँ वर्षमा कायापलट गर्छु भन्ने विद्यार्थी
सुत्यो अबेरसम्म
र, मिच्यो आफैंले बनाएको समय तालिका,
जसरी मिच्छन् हाम्रो नेताहरु
आफैंले बनाएको एक थान संविधान ।

मेरो त के कुरा गर्नुहुन्छ,
यो लेखेकै ओछ्यानबाट हो
यो देखेकै रछानबाट हो।

हाम्रो वर्षहरु फेरिए
भित्तामा क्यालेन्डर फेरिए
जिवनमा उमेरहरु फेरिए
तर, जीवनशैली फेरिएन
जीवन फेरिएन,
मान्छे पटक्कै फेरिएन ।

प्रतिक्रिया