शनिबार, जेठ ५, २०८१

शिक्षा र राणा !

श्रीहरि अर्याल २०७८ माघ २२ गते १२:४९

त्यतिबेला जग्गाको खासै महत्त्व थिएन । २०२१ सालमा नापी आएपछि मानिसले जग्गाको महत्त्व बुझ्न थाले । २०२५/२६ सालमा बाटो खुल्न थालेपछि मानिसहरु बानेश्वरमा बस्न आउन थाले । ती मानिसले कहाँनिरबाट पानी आउँछ भनेर आफ्नो हित हेर्न थाले अनि इनार खन्न थाले । अनि ढुंगेधारा संकटमा परे ।

२००७ सालमा प्रजातन्त्र आउनुअघि राणाको विश्वासपात्र र सेनामा काम गर्नेहरुका सन्तानले मात्र दरबार स्कुल पढ्न पाउथे । एसएलसी (म्याट्रिक) परीक्षा कलकत्ताबाट हुन्थ्यो । जनताका तर्फबाट पहिलो म्याट्रिक श्रीनिवास गिरीले कलकत्ताबाटै गरेका थिए ।

१९८० सालपछि एलएलसी दिन पटना जानुपर्ने भयो । राणाहरुले पढ्न तेजिला पण्डितका छोराहरुका साथ लगाएर आफ्ना छोराहरु पठाउन थाले । त्यसले गर्दा पण्डितका छोराले पनि औपचारिक शिक्षा पाउन थाले । १९८० सालभन्दा अघि म्याट्रिक गरेर आउनेलाई थानकोटमा बग्गी चढाएर, सिन्दूर जात्रा गर्दै श्री ३ महाराजका जुनाफमा दाम राख्न लगिन्थ्यो । पूर्वन्यायाधीश लीलाप्रसाद गिरी २००४ सालमा म्याट्रिक र भवानीशंकर राजवंशी दरबार स्कूलमा बोर्डफस्ट हुनुभएछ । उहाँहरुलाई पहिले बबरशमशेरको दर्शन गराएछन् । ‘राम्रो गर्नू केटा हो’ भनेर पठाएछन् । त्यसपछि मोहनशमशेरको दर्शन गर्न लगेछन् ।

साराले ‘श्री ३ महाराजकी, जय’ भनेर चिच्याए । त्यहाँ कुन विद्यार्थी कस्तो भनेर राणाहरुले बुझेका रहेछन् । जहिले बोर्ड फर्स्ट भएकालाई पुरस्कृत गर्ने रहेछन् । दाम राख्न चाँदीका डबल खल्तीमा राखेर गएका थिए ।

ती भवानीशंकरको पालो आएर ‘महाराज, यो फलानो’ भन्नासाथ मोहनशमशेर बम्केछन्, ‘वसन्तपुरमा हाम्रोविरुद्ध नारा लगाउन गएको तिमीहरु होइन ? थुनिनुपर्ला ।’

एकाएक सन्नाटा छायो । पूर्वन्यायाधीश गिरीले त्यो घटनालाई ‘नासिने बेलामा कमिलाको प्वाँख पलाएको’ भन्नुहुन्थ्यो । यिनीहरु व्यवस्था विरोधी हुन् भन्ने लाग्यो भने राणाहरु पढेकाहरुलाई पनि सोझै झम्टन्थे ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि बानेश्वरमा विकास निर्माणका लागि समिति बन्यो । त्यतिबेलाको सरकार पनि अहिलेझैं अस्थिर थियो । नयाँ पुस्तामा पढे ठूलो मान्छे भइन्छ भन्ने लहर आएको थियो । पुरानाहरुलाई शिक्षाप्रति ध्यान थिएन । बाहुनको छोरा यताउता गरेर ज्यान पालिहाल्छ, छोरी बिहे गरेर गइहाल्छे भन्ने सोँच थियो ।

चेतनशील मानिसहरुले बानेश्वरमा स्कुल खोल्ने प्रयास गरे । औपचारिक शिक्षाका लागि २०१६ सालमा शिलान्यास भयो, २०१९ सालमा पहिलोपटक रत्नराज्य स्कुल खुल्यो । जानकीदत्त लामिछानेको नेतृत्वमा स्कूलको शिलान्याय भयो । स्कुलको नामचाहिँ २०१९ सालमा मात्र रत्नराज्य राखियो । रानी रत्नले आठ हजार रुपैयाँ चन्दा दिएपछि श्री ५ रत्नराज्य लक्ष्मीदेवी विद्याश्रम मिडिल स्कुल नाम रह्यो ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको पुस्तक बानेश्वरको सेरोफेरोबाट ।

प्रतिक्रिया