बिहीबार, वैशाख १३, २०८१

क्रसर उद्योग र चन्दा

नेपालखोज २०७६ असोज १८ गते १०:३८

मोरङ जिल्लाको तक्कालीन सुन्दरपुर गाविसमा पर्ने गछिया भन्ने ठाउँमा मेरो तीन विघा खेत थियो । त्यसको केही भागमा खोलो पसेको थियो । पछि खोलो आफ्नै बाटोमा फर्केपछि जग्गा बाँझै थियो ।

एकदिन धरानकै व्यवसायीहरु श्याम अटल र नगेन्द्रकुमार सोनीले त्यही खाली जग्गामा साझेदारीमा एउटा क्रसर उद्योग खोल्न प्रस्ताव गरे । उनीहरुको भनाई के थियो भने, क्रसरका लागि छपियाको खाली खेत उपयुक्त छ, क्रसरबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

मलाई कुरा ठिकै लाग्यो । खाली जग्गा त्यसै छाड्नु भन्दा केही गर्नु ठिक छ भन्ने सोचेर म राजी भएँ । जग्गा प्रयोग गरे वापत मैले शयेर पाउने भएँ । तीनजना मिलेर काम शुरु ग¥यौं, नाम राख्यौ । यो कुरा २०५५/५६ तिरको हो ।

उद्योग खोलाकै छेउमा थियो । केही स्थानीय व्यक्तिहरुले रोजगारी पनि पाएका थिए । उद्योग राम्ररी नै चलेको थियो । कहिलकाँही सानोतिनो कचिङगल पनि आउँथ्यो । यस्तो बेलामा श्याम र नगेन्द्र मलाई नै अघि सार्थे । सवै मैले नै मिलाउनु पथ्र्यो ।

त्यत्तिबेला माओवादीको जनयुद्ध चम्केको थियो । माओवादी कार्यकर्ता हौं भन्नेहरुले फोन गर्न थाले । उद्योग सञ्चालनमा सानोतिनो अवरोध आउन थाल्यो । उनीहरु जनयुद्धको एउटा पाटो चन्दा असुली पनि थियो । त्यसबाट हाम्रो क्रसर पनि अछुतो रहेन । आफू माओवादी भनेर नचिनाउने म त्यहाँको स्थानीयवासी हुँ भन्ने, फोनबाट सिधै चन्दा नमाग्ने तर उद्योगको बारेमा जानकारी मागेर फेट्न खोज्ने उनीहरुको तरीका थियो । उनीहरुले धेरै पटक भेट्ने प्रयास गरेपछि मैले कुरा बुझँे । साझेदारहरुवीच छलफल भयो । माओवादीहरुसँग भेट्न र कुरा गर्न मलाई पठाउने निर्णय भयो । साझेदार मारवाडीहरु यस्तो कुरामा हत्तपत्त अघि सर्न मन गर्दैन थिए ।

माओवादीका मान्छेहरु उद्योगमा आएर मजदुरलाई भेटेर खवर छाड्दा रहेछन् । त्यहीबाट उनीहरुले हाम्रो फोन नम्वर पनि लिएका रहेछन् । धेरैपटक फोन आएपछि र कामदारहरुले पनि उनीहरुको खवर सुनाएपछि मैले भेट्ने विचार गरेँ । कुरा सुनौ न त के भन्दा रहेछन् भन्ने ठानेँ । भेट्न जाने टुङ्गो भएपछि साझेदारहरुले भने–टीकादाई, तपाइँको ब्रम्हज्ञानले जे देख्छ त्यही निर्णय गर्नुहोस्, अप्ठ्यारोमा नपरौं, जे सम्झौता गर्नुहुन्छ गर्नुहोस्, हामी आपत्ति गदैनौ, कुरा मिलाएर आउनुहोस् ।

यति भएपछि म ढुक्क भएँ । गछिया जङ्गलकै छेउमा भेटवार्ता गर्ने निधो भयो । म एक्लै गएँ । उनीहरु पाँचजना थिए । भेटभएपछि आदर देखाएर नमस्कार गरे । एउटा घरभित्र लगे । उनीहरु स्थानीइ माओवादीहरु हुन् भन्ने कुरामा म पूर्णत ः विश्वस्त भइसकेको थिउँ । मेरो मनमा कत्ति पनि भय भएन ।
कुरा शुरु भयो तीनजना बाहिर निस्किएर तीनतिर बसे । दुईजना मसँग छलफल गर्न वसे । एकजना चाहिँ अलि रिसाएर, झर्केर बोल्ने खालका थिए । भने अर्को एक जना नरम बोलीमा कुरा मिलाउन र सम्झाउन खोजे जस्तो गर्थे । सायद चन्दा उठाउने उनीहरुको काइदा यस्तै थियो । एकदुई जनाले धम्क्याउने र अर्कोले कुरा मिलाउन खोज्ने ।

उनीहरुले ६ लाखबाट कुरा शुरु गरे । यत्रो क्रसर उद्योग छ, राम्रोसँग चलेको छ, धनी मारवाडीहरु छन्, भोली तपाइँहरु कै सुरक्षाका लागि हो भनेर सम्झाउने र डर देखाउने दुवै काम एकसाथ गरे । मैले त्यत्ति ठूलो रकम चन्दा दिने हैसियत नभएको बताएँ । अनि भनेँ, यदि तपाइँहरुको माग ६ लाख नै हो भने हामी क्रसर चलाउन सक्दैनौ, तपाइँहरु जिम्मा लिनुहोस, चलानुहोस् र त्यहीबाट कमाउनुहोस् ।

मैले यसो भनेपछि उनीहरुको माग आधामा झ¥यो । अन्तत ः मैले एकलाख भन्दा बढी तिर्नुपर्ने हो भने क्रसर जिम्मा लिनुहोस् भनेपछि यति मै कुरा मिल्यो । उनीहरुले रकम पाए । त्यसबेला चन्दा नदिए माओवादीबाट जोगिन गाह्रो, दिए सरकारबाट जोगिन गाह्रो अवस्था थियो ।

चन्दा दिएपछि क्रसर निर्वाध रुपले चल्यो । त्यसको केही दिनपछि मेरो निजी कारणले मैले क्रसर उद्योग रहेको जग्गा तिनै साझेदारहरुलाई बेचेँ र उद्योगबाट हात झिकेँ । (टिकाबहादुर खड्काद्धारा लिखित गन्तव्य धरानबाट)

प्रतिक्रिया