ज्ञवालीले भने- स्वास्थ्य क्षेत्रका अनुसन्धान सर्वसाधारणमा पुर्याउनु पर्छ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्याउनु पर्नेमा जोड दिएको छ ।काठमाडौंमा चैत्र २८ र २९ गते बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्याउनु पर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले अब अस्पतालसम्बन्धीका अध्ययन तथा अनुसन्धानहरु हुन आवश्यक रहेको पनि बताए ।
सदस्यसचिव ज्ञवालीले सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल (परीक्षण) गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको पनि बताए । उनले छलफलमा नेपालमा भएका जडिबुटीलाई नेपालमै औषधि उत्पादन गरेर कसरी विश्व बजारमा पुर्याउन सकिन्छ भन्ने कुरामा पनि विशेष जोड दिइएको बताए । सदस्यसचिव ज्ञवालीले मुलुकलाई समृद्धितर्फ लैजानको लागि सहज परीक्षणको व्यवस्था हुनुपर्ने बताए ।
उनले सम्मेलनमा स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धानको विषयलाई संघीय स्तरमा लैजानु पर्ने र चाँडो जनताका आवश्यक्तालाई अध्ययनका उत्पादित सामग्रीले परिपूर्ति गर्न सक्नुपर्ने पनि बताए । उनले संघीय स्तरमा स्वास्थ्य सेवा प्रणालीको सुदृढिकरण, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा र यसको अवसर तथा चुनौतिका बारेमा छलफल भएको पनि बताए । सदस्यसचिव ज्ञवालीले तीव्र गतिमा जनताका आवश्यक्तालाई सम्बोधन गर्न अध्ययन, अनुसन्धानको स्तरवृद्धि गर्नका लागि संघीय प्रणालीबाट जान आवश्यक रहेको पनि बताए ।
सदस्यसचिव ज्ञवालीले अनुसन्धान परिषद्लाई काम गर्न नसकेको भनेर मिथ्या आरोप लगाउन खोज्नु गलत भएको बताए । उनले नेपालमा केहि नीतिगत र कानूनी अड्चनको कारणले क्लिनिकल ट्रायल गनरे उपयुक्त ल्याब तथा परीक्षण केन्द्र नहुँदा कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन गर्ने लगायतका कुरामा पछि परेको बताए । कोरोनाकालमा गर्न सकिने धेरै अध्ययन अनुसन्धान हुन नसके पनि सदस्यसचिव ज्ञवालीले अहिले अनुसन्धान परिषद्मा बजेटको हिस्स बढेको र केहि नीतिगत सुधार भएकोले आगामी दिनमा यसले गति लिने बताए ।
अनुसन्धान परिषद् कार्यप्रगतिले पनि नेपालीहरुको मन जित्नेमा विश्वस्त रहेको बताए । उनले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरु नेपालमा काम गर्न आउने वातावरण बनिरहेकोले वैज्ञानिकहरुको पुस्ता बढ्दै जाने पनि बताए । सदस्यसचिव ज्ञवालीले मुलुकमा रिसर्चका माध्यमबाट धेरै काम गर्न सकिन्छ भन्ने कुराको अवगत भएको पनि बताए ।
सदस्यसचिव डा. ज्ञवालीले आठौं सम्मेलनमा करिव १० लाख (अनलाइन र भर्चुवल माध्यमबाट) अनुसन्धानकर्ताले सम्मेलनमा सहभागी बनेको र आगामी दिनमा अनुसन्धानप्रतिको चासो बढ्दै जाने कुरामा विश्वस्त रहेको बताए । उनले नेपालमा अध्ययन, अनुसन्धानका लागि टेक्नोलोजीको कमी रहेको र अभ्यास परीक्षणका कुराहरुको कमी भएकोले यसलाई बढाउन सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया