देउवालाई फकाउने नभए तर्साउने नमाने कांग्रेसलाई साइड लगाएर गठबन्धन बनाउने (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज तीन नेताबीच छलफल भएको र नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामूहिक रुपमा छलफल गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र जसपा अध्यक्ष यादवले गरेको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिएका र भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए ।
आसन्न स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन । गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा एकीकृत समाजवादीको अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।
नेपाली कांग्रेसले गठबन्धनमा साथ नदिए उनीहरु कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल चलेको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेसले साथ नदिए अन्य चार दल एक भएर चुनावमा जाने छलफल भएको छ । गठबन्धन बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ग्रीन सिंग्नल दिए पनि अन्य नेताहरु विरोधमा छन् । कांग्रेसका नेताहरु गठबन्धन बनाएर जसपा माओवादी र नेकपा एसले भने जति स्थानीय तहमा उम्मेदवारी दिनका लागि साथ दिन नसकिने बताइरहेका छन् ।
गठबन्धनमा खटपट आए प्रचण्ड माधव जसपा र जनमोर्चा एक भएर जाने सम्भावना बढेको छ । सकेसम्म र सम्भव भएसम्म कांग्रेसलाई मनाउने नभए एमाले र कांग्रेसबिनका गठबन्धन बनाउने उनीहरुको रणनीति छ। उनीहरुले कांग्रेसको साथ नपाए गठबन्धन बनाएर चुनाव लड्नुपर्ने मनस्थितिमा पुगेका छन् । उनीहरुको बैठक कांग्रेसलाई धक्का दिनका लागि पनि बसेको हुनसक्ने स्रोतको दाबी छ । देउवालाई सत्ताबाट हात धुनुपर्ने वातावरण बनाएजस्तो गरेर गठबन्धन बनाउने उनीहरुको रणनीति छ । देउवालाई फकाउने नमाने तर्साउने नभए कांग्रेसलाई साइड लगाएर गठबन्धन बनाउने उनीहरुको रणनीति रहेको छ ।

प्रतिक्रिया