जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
नेपालखोज
२०७९ वैशाख ५ गते १२:११

स्याङ्जा । स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा सख्त घाइते भएका वालिङ १२, डाँडाखर्कका ५० वर्षीय अङगबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।
अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।
वालिङ नगरपालिका-१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग.१ज ७३९९ नम्बरको जिप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जिप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया