प्राकृतिक विपत्तिले सताएको वर्ष-२०७८

नेपालखोज २०७९ वैशाख ५ गते १५:४४

काठमाडौं । मेलम्चीको पानी काठमाडौंवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत वर्ष काठमाडौंसम्म आउन त आयो तर लामो समय रहन भने सकेन ।

मनसुन सुरु भएकै दिन गत असार १ गते सिन्धुपाल्चोकमा भिषण बाढी आयो । वर्षाको आगमन नहुँदै त्यसरी भिषण बाढी आउला भन्ने कल्पनासम्म पनि थिएन स्थानीयको । त्यस दिनको बाढीले यति बिपत्ति ल्याइदियो कि कैयौँ स्थानीयको ज्यान लियो र भौतिक सम्पत्ति नष्ट गरिदियो ।

यी स्थानीयको सपनासँगै काठमाडौंवासीको सपना पनि त्यो बाढीले बगाइदियो । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाका केही संरचना नै बगाइदियो । त्यसदिन हेलम्बु र मेलम्चीवासी कहालीलाग्दो विपत्तीमा परे । ठूलो जनधनको क्षति भयो । कैयौँका थातथलो मेलम्ची नदीको बगरभित्रै विलाएर गयो भने केहीको बासै उठिबास लगायो ।

दशकौँदेखिको काठमाडौं उपत्यकावासीको मेलम्चीको पानी खाने सपना पूरा हुनै लाग्दा फेरि हरायो । उपत्यकावासीले प्यास नमेट्दै पानी उतै थुनियो । बाढीले पुल, सडक, पानीको मुहानमा गम्भीर असर पारेकाले कैयौँ दिन स्थानीयको मुखमा गाँस पनि परेन ।

एकातिरको विपद् थेग्न यो मुस्किल परिरहेका बेला उता हिमाली जिल्ला मनाङमा पनि बाढीले वितण्डा मच्चायो । घर, खेत, विद्यालय, सामुदायिक भवन भत्किए, बगे । कहाँ पानी प¥यो अनि कहाँबाट एक्कासी त्यस्तो बाढी आयो कसैले भेउ पाएनन् ।

विगतका इतिहासमा यसरी बाढी आएको नदेखेको त्यहाँका स्थानीय बुढापाकाको अनुभव छ । पहाडी भेग बझाङ, कालीकोट, म्याग्दी, रुकुमलगायत जिल्लामा पहिराको पिरले छाडेन । हल्का वर्षामै पहाड चिरा परेर भेल पहिरोले घर, गाउँको बासै उठायो।

कतिपय स्थानमा सञ्चार सम्बन्ध नै विच्छेद हुँदा उद्धार र राहत पुर्याउन तीन चार दिन लाग्यो । अहिले पनि चिराचिरा परेका पहाडले भोलिको भेलपहिराको निम्तो गरिरहेको संकेत दिएजस्तो लाग्दछ । नेपाल भौगोलिक विविधताले जति प्रख्यात छ, बहुप्रकोपको लहरले उति नै जोखिम पनि छ । बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट नेपाल प्रभावित देश हो ।

जलवायु परिवर्तनको असरका कारण तापक्रम बढ्दै जानुका साथै वर्षा पनि अनियमित हुने गरेको छ । परिणामतः खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोपको सामना गरिरहनुपरेको छ । यसका कारण कतैकतै महामारी र सुक्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको छ ।

जलवायु परिवर्तनकै असरका रुपमा २०७८ कात्तिक पहिलो साता आएको बेमौसमी बाढीलाई पनि लिन सकिन्छ । यो प्रकोपमा परी १०० बढीले ज्यान गुमाए । अर्बौंको भौतिक क्षति बेहोर्नु पर्यो ।

मुस्ताङको टुक्चेपिकमा कात्तिक २८ मा अकस्मात हिमपहिरो गयो । जलवायु परिवर्तन विज्ञ डा ङमिन्द्र दाहाल यो असामान्य घटना भएको सुनाउनुहुन्छ । उनले ‘मेलम्ची खोला अकल्पनीयरुपमा उर्लेर तहसनहस पार्नेगरी आयो, कात्तिक पहिलो साता बेमौसममा ठूलो क्षति हुने गरी भारी वर्षा भयो, सामान्यतया हिउँ जम्ने बेलामा कात्तिकमै हिउँ पहिरो खस्नु भनेको जलवायु परिवर्तनको प्रत्यक्ष असर हो ।’

प्राकृतिक र मानव सिर्जित विपद्को महामारी नेपालमा हरेक वर्ष बढ्दो छ । प्राकृतिक विपद् भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृिष्ट, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुबान, खडेरी, आँधी, हुरीबतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विष्फोट, डढेलो आदि भनेर बुझिन्छ ।

मानवसिर्जित विपद्मा महामारीजन्य रोग, अनिकाल, पशुरोग, चराचुरुङ्गीबाट हुने बर्डफ्लू, सर्पदंश, जनावर आक्रमण खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्यास, रसायन एवं विकीरण चुहावट तथा ग्यास विष्फोटनले ल्याउने विपद्लगायत बुझिन्छ ।

युनिसेफले गरेको एक अध्ययनअनुसार विगत २५ वर्षमा देशका ८६ प्रतिशतभन्दा बढी घरधुरीले कुनै न कुनै प्रकारले खडेरीको सामना गर्नुपरेको छ । बाढी र पहिरो र यो सँग सम्बन्धित जोखिम विद्यमान उच्च गरिबी र खानेपानी तथा सरसफाइ जस्ता अत्याआवश्यक सेवाको पहुँचसँग मिसिन जान्छन् ।

नेपालका सन्दर्भमा गण्डकी, कर्णाली, मधेस प्रदेशले कैयौँ पटक खडेरी र बाढीको सामना गरिसकेका छन् । पहाडी क्षेत्र पहिरोबाट प्रभावित छ । बारम्बार भइरहने विपद्का घटनामा भुकम्प, बाढी, पहिरो, आगलागी, हावाहुरी, चट्याङ, शीतलहर जस्ता घटना प्रमुख छन् ।

गृहमन्त्री बालकृष्ण खाँण मुलुकका प्राकृतिक विपद् बढ्दो क्रममा रहेकाले विशेष ख्याल गर्दै सोहीअनुसारको रणनीति बनाउन जरुरी रहेको बताए । वि सं २०७६ देखि निरन्तर रहेको कोभिड–१९ महामारीको तनावले नेपाललाई २०७८ मा पनि छाडेन । त्यसले अझै पनि मानवीय र आर्थिक क्षति पुर्याउनेक्रम जारी छ ।

प्राप्त विवरणमा कूल छ हजार १३८ परिवार प्रभावित भएका जनाइएको छ । विपद्जन्य घटनाबाट दुई अर्ब ६१ करोड बढीको क्षति भएको छ ।

तथ्यांकमा २०७८ को विपत्ति
वर्ष २०७८ प्राकृतिक विपद्का हिसाबले अत्यन्त खराब स्थितिमा गुज्रियो । बाढी पहिराबाट मुलुकले नसोचेको मानवीय क्षति बेहोर्न पुग्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०७८ मा देशभरमा विभिन्न प्रकृतिका तीन हजार ९०४ वटा विपत्ति आइलागे । ती विपद्मा परेर कूल ५०५ जनाले अकालमा ज्यान गुमाएका छन् । अझै ७६ जना हराइरहेका छन् भने एक हजार ७७७ जना घाइते भएका छन् ।

सबैभन्दा बढी घटना आगलागीका
दुई हजार ३७१ ओटा भए भने सबैभन्दा बढी मानवीय क्षति पहिराबाट भएको छ । पहिरामा परेर १८२ जनाले ज्यान गुमाएका छन् । बाढीबाट ३४ र पहिराबाट ३३ जना बेपत्ता भएका छन् ।

कुनकुन घटनाबाट कति क्षति ?
वि सं २०७८ मा पहिरो र बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गराएको छ भने ठूलो संख्यामा मानिस पनि हराइरहेका छन् । मानवीय क्षतिका हिसाबले वर्ष २०७८ कालो दिन नै बन्न पुग्यो । सिन्धुपाल्चोकलगायत जिल्लामा अकल्पनीय घटनाहरु भए ।

पहिरो

वि सं २०७८ मा कूल ३४४ पहिरो गएको र त्यसबाट १८२ व्यक्तिको मृत्यु भएको छ । कूल ३३ बेपत्ता र १४० जना घाइते भएका छन् भने ६१५ परिवार प्रभावित भएको जनाइएको छ । पहिराबाट मात्रै तीन करोड ५० लाख रुपैयाँको क्षति भएको छ ।

बाढी
बाढीका १५५ घटना भएकामा ती विपद्मा परेर ६३ जनाको मृत्यु भएको छ । बाढीबाट अन्य ३४ बेपत्ता छन् भने १४ जना घाइते भएका र २८० परिवार प्रभावित भएका छन् । बाढीका कारण ११ करोड रुपैयाँ बढीको भौतिक क्षति भएको छ ।

भारी वर्षा
भारी वर्षापछि डुबानलगायत विभिन्न समस्याका कारण २२ जनाको मृत्यु र एक जना बेपत्ता भए । भारी वर्षाका कारण ४८ जना घाइते भएका तथा ४६३ घर प्रभावित भएका छन् भने कूल १२ करोड रुपैयाँको क्षति भएको छ ।

चट्याङ
विभिन्न क्षेत्रमा २०२ पटक चट्याङ गएकोमा ५६ जनाको मृत्यु भएको छ । २९३ परिवार प्रभावित भएकामा १७७ जना घाइते भएका छन् । दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

हावाहुरी
हावाहुरीका ५६ घटना भएकामा तीन जनाको मृत्यु तथा एक बेपत्ता छन् । कूल २७३ घर प्रभावित भएकामा १० जना घाइते भए । तीन करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

हिउँपहिरो र हुरी

हिउँपहिरो र हिउँ हुरीका १० घटना भएकोमा छ जनाको मृत्यु तथा १२ जना भाइते भएका छन् । कूल २० परिवार प्रभावित भएको जनाइएको छ ।

२०७७ सालको क्षति
२०७७ मा कूल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ , भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । पहिराले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ जनाको मृत्यु र ३७ बेपत्ता भए ।

२०७६ को क्षति
यो वर्ष चार हजार ३४ विपद्का घटनामा ३८१ जनाको मृत्यु भएको छ । कूल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिराले ८३ र बाढीले ७३ को ज्यान लियो ।

बढ्दै विपत्ति

पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा २०७२ सालसम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए ।

वि सं २०७३ पछि विपद्का घटना क्रमश:

दुई हजारबाट उकालो लागेकोमा पछिल्ला केही वर्ष (२०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।

बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्को जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्यांकले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ ।

विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

हरेक दृष्टिकोणबाट जोखिम
जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमश: ११औँ र ३०औँ स्थानमा छ ।

जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्यांकमा नेपालमा ७० देखि ८० प्रतिशत जनसंख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसंख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेका छन् । -रासस

प्रतिक्रिया