‘पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक होस्’

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराएको छ । संगठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरण गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।
विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार प्रदान गर्ने माध्यम आमसञ्चार नै भएको उल्लेख गरिएको छ । लोकतन्त्रको स्थापनापछि राज्यले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन दिने नीति बनाउन ध्यनाकर्षणपत्रमा भनिएको छ ।
अध्यक्ष श्रेष्ठले विगतमा काउन्सिलले गरेको वर्गीकरण पक्षपातपूर्ण भएको गुनासो आइरहेको अवस्थामा वर्गीकरण न्यायपूर्ण हुनुपर्ने आवाज श्रमजीवी पत्रकारले उठाइरहेकाले पनि वर्गीकरणलाई निष्पक्ष तथा थप प्रभावकारी बनाई सञ्चारमाध्यमको संरक्षण गर्नु काउन्सिलको दायित्व भएको बताए ।
उनले नतिजा प्रकाशनमा ढिलो हुँदा चालु आर्थिक वर्षका लागि वर्गीकरणको फर्म भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै निकाल्न काउन्सिलले ध्यानाकर्षण गराएको बताए । संगठनको गत चैत १२ र १३ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव गरिएको थियो ।
उक्त पत्र बुझेपछि काउन्सिलका अध्यक्ष बस्नेतले संगठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतको कल्याण हुने बताउँदै वर्गीकरणलाई विवादरहित बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया