महानगरपालिकामा माओवादीले भरतपुर नै चाहिन्छ भनेको छैन : प्रचण्ड

नेपालखोज २०७९ वैशाख ५ गते १६:०३

काठमाडौं । सत्तारुढ गठबन्धनले आज सोमवार बेलुकासम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुंगो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् । गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए।

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी ६ वटा महानगरपालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउने छ, भने माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक/एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले बताए । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुंगोे लगाउन नसकेका र मतैक्य हुन नसकेका ठाउँमा भने केन्द्रले सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ । कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल चलिरहेको छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाको समेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

फरक एक प्रसंगमा अध्यक्ष प्रचण्डले आफूहरूलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताए । उनले भने, ‘गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । त्यही दिशामा नै छलफल भइरहेको छ ।’

उनले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताए । उनले भने, ‘सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले चुनावको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा चिह्न बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताए ।

गठबन्धनमा आबद्ध दलहरूका बीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उनले भने, ‘निर्वाचन आयोगले चुनावको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिह्न प्रयोग गर्दा सजिलो भने हुन्छ ।’

प्रतिक्रिया