स्थानीय तहको भागबन्डा मिलाउन बैठक जारी रहेको समयमा नै अमेरिकी राजदूत बेरी बालुवाटार पुगे

नेपालखोज २०७९ वैशाख ५ गते १८:०९

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनबीच भागबन्डाको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

गठबन्धन बैठक भइरहेका बेला अमेरिकी राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतले भने पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार आएको जनाएको छ ।

सोमबार बिहान १० बजेदेखि सुरु भएको गठबन्धनको बैठक दिउँसो केहीबेर स्थगित भएर पुन बसिरहेको छ। बैठक जारी रहँदा राजदूत बेरी बालुवाटार पुगेका हुन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि उनी बालुवाटार प्रवेश गरेको बताइएको छ।

महानगर, उपमहानगर र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसिरहेको हो । बिहानको बैठकमा सवै दलहरुले आ आफ्नो दाबी पेस गरेका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले महानगरमा एक/एक सिट पाउनुपर्ने दाबी पेस गरेका थिए । सत्तारुढ दलहरुले आजै महानगर र उपमहानगरको बाँडफाँट टुङ्गाउने तयारी गरेका छन्।

प्रतिक्रिया