शुक्रबार, वैशाख २६, २०८२

रुसले सुरू गर्‍याे पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण

नेपालखोज २०७९ वैशाख ६ गते ८:४६

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन् । टेलिभिजनमार्फत्‌ एउटा सम्बोधन गर्दै उनले ‘डोन्बासका लागि युद्ध’ सुरू भएको बताएका हुन् ।

डोन्बासमा हमलाका लागि रुसले ठूलो संख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन् । ‘रुसले जतिसुकै सेना ल्याए पनि केही छैन, हामी लडिरहनेछौँ। हामी आफ्नो प्रतिरक्षा गर्छौँ,’ उनले भने ।

रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो । डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही सहरहरूमा ‘लगातार’ भइरहेका आक्रमणबीच स्थिति ‘नर्क’ जस्तै भएको बताएका छन् । जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले ‘दोस्रो चरणको युद्धको सुरूवात’ गरेको बताएका छन् ।

यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्‌का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए । बीबीसी

प्रतिक्रिया