पाकिस्तानमा श्रीलंकाली नागरिकलाई कुटीकुटी मारेको घटनामा ६ जनालाई मृत्यदण्डको फैसला

काठमाडाैं । पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा छ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेका थिए । त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए ।
उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँच वर्षको सजाय सुनाइएको छ ।
उक्त घटनाले पूरै पाकिस्तान स्तब्ध भएको थियो । तात्कालीन प्रधानमन्त्री इमरान खानले घटना भएको दिनलाई ‘लज्जाको दि’ भनेका थिए ।
सामाजिक सञ्जालमा प्रकाशित भिडिओमा क्रुद्ध मानिसहरूको भिडले दियावादानागेलाई उनको कार्यस्थलबाट घिसारेर लगेको अनि प्राण जाउन्जेल पिटेको देखिन्छ । त्यसपछि भिडले उनको शवलाई जलाइदियो ।
केही मानिसले उनको शवसँग आफ्नो सेल्फी पनि खिचेको भिडिओमा देखिन्छ । मृतककी पत्नी निलुशी दिशानायकले आफूले आक्रमणको दृश्य इन्टरनेटमा देखेको र त्यो ‘अत्यन्त अमानवीय’ भएको बताएकी थिइन् । बीबीसी
प्रतिक्रिया