देउवाले भने- रामचन्द्रजी सबै मिलेर मलाई प्रधानमन्त्री बनाएँ, मैले के बिराएँ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएर आफूले के गल्ती गरेको भनेर नेता रामचन्द्र पाैडेललाई प्रश्न गरेका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले प्रधानमन्त्री भएर आफूले राम्रै गरेको पनि बताए ।
उनले पार्टीका नेताहरूलाई आफूले के गल्ती गरेँ ? भनी सोधेका हुन् । सबै ठाउँमा कांग्रेसलाई सरकारमा पुर्याउन सफल भएको समेत उनले बताए । यस्तै देउवाले प्रधानमन्त्री बनाइदेउ भनेर रामचन्द्र पौडेललाई नभनेको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्रजीलाई भनेकै होइन् । सबै साथीले बन कि बन भन्नुभयो । के गर्ने ?’
पार्टीभित्र हरेक क्षेत्रमा भागबन्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह पनि गरे । उनले भने, ‘हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबन्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ ।’
नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । उनले भने, ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?’
अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्यो । हार स्वीकार्दैनन् कहाँबाट हुन्छ ।’
प्रधानमन्त्री भएर के बिगारेको छु भन्दै कांग्रेस नेता पौडेललाई देउवाले प्रश्न गरेका हुन् । उनले भने, ‘सबै ठाउँमा कांग्रेसलाई सरकारमा ल्याउने मेरो गल्ती हो भने भन्नुस् । प्रधानमन्त्री भएर मैले के बिगारेँ । राम्रै गरेको छु त । राजचन्द्रजीले झन मलाई उहाँले धन्यवाद बधाई दिनुपर्नेमा ।’
गठबन्धन गरेर सबैलाई मिलाउन कुनै अपराध नगरेको देउवाको भनाइ छ । देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए । त्यसैको परिणामस्वरूप अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले बताए ।

प्रतिक्रिया