केपी ओली डरले थरथरी काँमे : रामचन्द्र पौडेल

नेपालखोज २०७९ वैशाख ६ गते १५:३६

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन् । मंगलवार नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनले बताए । वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको जनाइएका छन् । लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उनले स्पष्ट पारे । उनले गठबन्धनका दलहरुले आ-आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताए ।

उनले भने, ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरु, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरु, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षड्यन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ ।’

उनले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताए । उनले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया