गठबन्धनको निर्णय अक्षरश: पालना गर्छाैं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरुले मान्ने बताएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफुहरुले मान्ने बताएका हुन् ।
उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए । ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफूहरुले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरु पनि आफुहरुले राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफुहरुले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उनले बताए ।
उनले गठबन्धनको निर्णय अक्षरश पालना गर्ने स्पष्ट पारे । उनले भने ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ । ललितपुर हामी छोड्दैनौँ । हामीले त जितेको ठाउँ हो नि त । छोड्ने भन्ने त प्रश्नै आउँदैन । मेयर उपमेयर हामी राख्छौँ । २९ वडामा १९ वडा भागबन्डा गर्छौ । १० वडा हामी नै राख्छौं । भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौँ । मैले पाउँछु फरकै पर्दैन । जितेको मेयर मै हुँ । जित्नेपनि मै हुँ । गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौं ।’
उनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू भएको पनि बताए । आफूले नै मेयरको टिकट पाउने उनले दाबी गरे ।

प्रतिक्रिया