एमालेलाई पैसामा खरिद गर्न सम्भव छैन : ओली

नेपालखोज २०७९ वैशाख ७ गते २२:०९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दाबी गरे ।

आज ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मिहिनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । यसमा तोकिएको खेलाडी नहुने हुँदा सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो । अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत् खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे ।

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाएका थिए ।

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरुको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया