७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खुल्यो !

नेपालखोज २०७९ वैशाख ८ गते १६:४४

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए । यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उनले स्पष्ट पारे । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम सुरु गर्ने पनि उनले बताए । आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पुरा गरिसकेको उल्लेख गरे ।

आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराउने उनले विश्वास व्यक्त गरे । निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पु¥याउने उनले बताए । सामग्री अभावका कारण निर्वाचन नरोकिने उनले प्रष्ट पारे । उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया