गेब्रेयससले भने- नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख ९ गते १५:५५

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस यतिबेला भेटघाटमा व्यस्त छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डरीसँग शीतल निवासममा शिष्टाचार भेटवार्ता गरेका छन् भने, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्यूएचओले खोप वितरण गरेकामा डब्ल्यूएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानकाबारेमा जानकारी गराएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए ।

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा गेहब्रेयसले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्लुएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकामा उनिप्रति आभार पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पनि महानिर्देशक डा टेड्रोसलाई आग्रह गरे।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए । महानिर्देशक डा टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको पनि बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा बिहीबार नेपाल आएका महानिर्देशक गेब्रेयससले हिजो नै मन्त्री खतिवडा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग भेटवार्ता गरेका थिए ।

तस्बिर : रासस

प्रतिक्रिया