डब्ल्यूएचओका महानिर्देशकले गरे नेपाल सरकारको प्रशंसा

काठमाडौं । विश्वस्वास्थ्य संगठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् ।
उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका हुन् । प्रधानमन्त्री देउवासँग आज भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा टेड्रोसले बताए ।
त्यस अवसरमा डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरुमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य संगठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले विश्वस्वास्थ्य संगठनलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राख्नुभएको थियो ।

प्रतिक्रिया