पदोन्नति भएका चार प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

नेपालखोज २०७९ वैशाख ९ गते २०:४१

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ८ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नति पछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको वृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उनले निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरूमार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया