अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध छ: राष्ट्रपति भण्डारी

नेपालखोज २०७९ वैशाख ९ गते २०:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको बताएकी छन् । नेपाल फर्मा एक्स्पो २०२२ को आज भरतपुरमा उद्घाटन गर्दै उनले स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्याधिक हुँदै जाँदा आयात बृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको बताइन् ।

उनले औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा भएका जडिबुटीहरुको व्यवसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरी आयात प्रतिस्थापन गर्न सकिनेमा जोड दिइन्।

निजी क्षेत्रको ठूलो लगानीसहितको औषधि उत्पादनमा आत्मनिर्भर बन्ने संकल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पु¥याउनु पर्ने उनको भनाइ रहेको थियो।

औषधि उत्पादनका क्षेत्रमा विश्वभरी निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको भन्दै उनले विज्ञान र प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्रै हाम्रो उद्योगहरुको प्रतिस्पर्धी क्षमता सृदृढ हुने बताइन् ।

मुलुकमा औषधि उद्योगको विकासबाट वर्षेनी हजारौंको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी उपलब्ध हुने र प्रतिभा पलायनको समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ रहेको थियो ।

अन्य उद्योगहरुको सापेक्षमतामा औषधि उद्योगको सामाजिक, प्राविधिक एवं राष्ट्रिय दायित्व बहुआयामिक र संवेदनशील हुने भन्दै उनले यसै यथार्थतालाई मनन गरी औषधि उत्पादन तथा औषधि आयात निर्यात सम्बन्धी नीति एवं कानूनहरुमा समय अनुकूल सुधारलाई आत्मसात गर्न सम्बन्धित निकाय सक्षम हुने आफूले विश्वास लिएको बताइन् । तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।

प्रतिक्रिया