युक्रेन-रुस लडाइँमा मानवअधिकारको चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयका अनुसार युक्रेनी तथा रूसी सेनाद्वारा गरिएका युद्ध अपराधका सबुत-प्रमाण बढ्दै गएका छन् । ती प्रमाणमा आमनागरिकलाई निशाना बनाइएको तथा मानिसहरुलाई जबरजस्ती बन्दी बनाइएको जस्ता कुरा सामेल छन् ।
अफिस अफ यूएन हाई कमिसन फर ह्युमन राइट्स (ओएचसीएचआर) का मिसेल बासेलेट भन्छन्, ‘रूसको सशस्त्र सेनाले सबैमाथि बमबारी गरेको छ भने आवासिय इलाकाहरुमा पनि हमला गरेको छ जसका कारण आमनागरिक मारिएका छन्, स्कुल, अस्पताल तथा नागरिक संरचनाहरु ध्वस्त पारिएका छन् । यस्ता कदम युद्ध अपराधमा सम्म आउने खालका छन् ।’
ओएचसीएचआरका अनुसार, २४ फेब्रुअरीमा युद्ध सुरु भएयतादेखि २० अप्रिलसम्म आममानिस पीडित भएको ५,२६४ वटा घटनाको पुष्टि भएको छ । यसमा २,३४५ जना मारिएका छन् । २,९१९ जना घाइते भएका छन् । यसमध्ये ९२.३ प्रतिशत घटना युक्रेनमा दर्ता गरिएका छन् । उता रूसी सेना तथा रूस समर्थक अलगाववादी इलाकामा यस्ता ७.७ प्रतिशत घटना देखिएको छ ।
ओएचसीएचआरले भनेको छ- पूर्वी युक्रेनमा युक्रेनी सेनाले पनि आमनागरिकलाई निशाना बनाउने गरी हतियार प्रयोग गरेको छ । यूएनको यो अनुगमन प्रतिवेदन भन्छ- दुवै पक्षलाई थाहा थियो कि केही हतियार आममानिसका लागि खतरा बन्न सक्छ तर तैपनि ती हतियार प्रयोग गरिए । यूएनका पर्यवेक्षकहरुले युद्धमा प्रयोग गरिएका विभिन्न किसिमका हतियारको अभिलेख राख्ने काम पनि गरेका छन् ।
मारिएका आमनागरिको संख्या बढी छ
बासेलेट भन्छन्, ‘हामीलाई थाहा छ मारिएका मानिसहरुको यथार्थ संख्या यसभन्दा कैंयन् गुणा बढी छ । जुन इलाकामा भीषण डरलाग्दो लडाइँ चलिरहेको छ जस्तो मारियोपोल, त्यहाँको विवरण आउन बाँकी नै छ ।’ यूएन मिसनअन्तर्गत बुचा पुगेका मानवअधिकार अधिकारीहरुले बुचामा कम-से-कम ५० आमनागरिकको बर्बर हत्या दर्ता गरेका छन् ।
यूएन अधिकारीहरुले राजधानी किएभ, चेरनिहिभ, खारकिभ तथा सुमीमा ३०० आमनागरिकको हत्याको खबर पनि जानकरीमा लिएका छन् । फेब्रुअरीको अन्त्यदेखि मार्चको मध्यसम्म युक्रेनका यी सबै इलाका रूसी सेनाको नियन्त्रणमा थिए ।
रूसले युक्रेन आक्रमणलाई स्पेसल मिलिट्री अपरेसन भनिरहेको छ । रूसको आरोप छ- युक्रेनमा हतियारबन्द नाजीहरु छन् जसले आममानिसहरुका साथै रूसी मातृभाषा बोल्नेहरुलाई निशाना बनाइरहेका छन् । युक्रेनले भने यो आरोप अस्वीकार गरेको छ । किएभको आरोप छ- रूस नाजीको नारा दिएर उसको भूमिमा कब्जा जमाउन चाहन्छ ।
जनसंहारको कुनै प्रमाण छैन
युक्रेनले रूसी सैनिकहरुमाथि महिलाहरुको बलात्कार गरको आरोप पनि लगाएको छ । यूएनका पर्यवेक्षकहरुले बलात्कारका साथै दुवै पक्षमाथि लागेको आमनागरिकलाई जथाभावी हिरासतमा लिएको आरोपको समेत जाँच गरिरहेको छ ।
अफिस अफ यूएन हाई कमिसन फर ह्युमन राइट्सकी प्रवक्ता रविना समदासिनीका अनुसार, ‘मानवताविरुद्धका अपराध तथा जनसंहारका घटनाहरूको अन्तिम फैसला त कानुनी अदालतले नै गर्नेछ । हामीले त्यहाँसम्म पुग्न आवश्यक जरूरी डकुमेन्ट पनि तयार गरिसकेका छैनौं ।’
यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध अपराधी तथा जनसंहारजस्ता शब्द प्रयोग गरिरहेका छन् । ती शब्दमा आपत्ति जनाउँदै रूसले अमेरिकालाई चेतावनीसमेत दिइसकेको छ ।
एकातिर करिब दुई महिनादेखि जारी युद्धमा युरोपसहितका अमेरिकी मित्रहरुले युक्रेनलाई दिने सहायता बढाउँदै लगेका छन् । भारत भ्रमणमा गएका ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले युक्रेन युद्ध एक वर्षसम्म लम्बिने सम्भावना व्यक्त गरेका छन् ।
उता युक्रेन युद्धलाई लिएर सुरुदेखि नै दबाब झल्दै आएको जर्मनीले एकपटक फेरि यो युद्धलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ । युक्रेन सरकारको रुष्टताका बाबजुद जर्मन चान्सलर ओलाफ शोल्त्सले भनेका छन्- नाटोले रूससँग सीधा सैन्य संघर्ष हुने परिस्थितिबाट जोगिनुपर्छ अन्यथा यो युद्ध तेस्रो विश्वयुद्ध (थर्ड वर्ल्ड वार) मा परिवर्तित हुन सक्छ ।
(एपी र रोयटर्सको सहयोगमा)
प्रतिक्रिया