‘शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदान प्रशंसनीय’

नेपालखोज २०७९ वैशाख १० गते १५:०७

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल–अमेरिका संसदीयमैत्री समूहसँग आज काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरुको टोलीले राखेको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरुले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रसंशा गरेका थिए भने नेपालको विपत् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताएका थिए ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरुले नेपाल भ्रमण गरेका हुन् । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो । तस्बिर : रासस

प्रतिक्रिया