ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

नेपालखोज २०७९ वैशाख ११ गते १०:३७

दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरूले उम्मेद्वारको नाम टुंग्याएका छन् ।

सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उमेदवार बन्ने भएका छन् ।

त्यस्तै, नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखको उम्मेद्वार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा सत्तासाझेदार दलबाट नेकपा (माओवादी केन्द्र)का हेमराज शर्मा प्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीलाई उमेदवार बनाउने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति शंकर डाँगीले जानकारी दिए ।

एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उमेदवार बनाएको छ ।

यसैबीच, जिल्लामा आज मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।

मुख्य  निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उमेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेद्वारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेद्वारी दर्ता गर्नेछन् । रासस

प्रतिक्रिया