‘समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण’

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
उनले भने, ‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ।’ लोकतन्त्र स्थापनका लागि सामाजिक संघसंस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गरे। झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक संघसस्थाले आफ्नो ठाउँबाट समाजको लागि केही न केही उल्लेखनीय काम गरेको उनको भनाइ थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ गहतराजले सामाजिक संघसंस्थाले सङगठित नागरिकको भूमिका खेलेको बताए ।उनले भने, ‘ युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन ।’ मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गरे ।
नेपाली कांग्रेसका नेता एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताए । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाएको बताए । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।-रासस

प्रतिक्रिया