कांग्रेसका शीर्ष नेताको छलफल जारी, विराटनगरमा नागेश र भीममध्ये कसले मार्ला बाजी

काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।
शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने भनिएको थियो तर बैठक ११ बजेबाट मात्र सुरु भएको हो ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठक स्थगित गरेर पदाधिकारी र पूर्वपदाधिकारीसँग अनौपचारिक संवाद जारी राखेका थिए । कांग्रेसले महानगर र उपमहानगरका लागि केन्द्रबाट उम्मेदवार छान्न लागेको छ। कांग्रेस विधानअनुसार उम्मेदवारलाई टिकट दिन केन्द्रीय संसदीय समिति बन्नुपर्छ। तर सभापति देउवाले संसदीय समिति बनाएका छैनन् ।
कार्यसम्पादन समितिमार्फत् नै टिकट दिने तयारी गरिएको छ । कार्यसम्पादन समितिमा पदाधिकारीसहित शीर्ष नेताहरू सदस्य छन् । कांग्रेसले छ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाएको छ भने ३ मा उपमेयर पाएको छ । कांग्रेसले ७ उपमहानगरमा मेयर र ४ मा उपमेयर लिएर सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको थियो ।
शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने बताइएको छ । कार्यसम्पादन समिति बैठक ११ बजे बस्ने भनेपनि शीर्ष नेताहरु सहमतिकै खोजीमा अल्झिएको अवस्था छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ ।
यस्तै भरतपुर, पोखरा र विरगन्जमा कांग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजि भइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भए पनि कांग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।
कांग्रेसले विराटनगरमा बहालवाला मेयरलाई अघि बढाउन खोजेको स्रोतको दाबी छ । भीमप्रसाद पराजुलीले अहिले विराटनगरको कमान्ड सम्हालिरहेका छन् । उनलाई फेरि मेयर बनाउन कृष्णप्रसाद सिटाैला लयागतका नेताले लबिङ गरिरहेका छन् । तर शेखर कोइरालाले भने नागेश कोइरालालाई टिकट दिनुपर्ने माग गरेको स्रोतको दाबी छ । विराटनगरकमा देखिएको किचलोका कारण कांग्रेसले उम्मेदवार टुंगो लगाउन नसकेको हो । विराटनगरको मेयर बन्न डिला संग्राैलाले समेत इच्छा देखाएकी थिइन् ।

प्रतिक्रिया