सेनाकाे भान्साको इन्धन अब बिजुलीले विस्थापन गरिने, पूर्वाधारका लागि मन्त्रालयले सहयोग गर्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र प्रधानसेनापति प्रभुराम शर्माबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको छ ।
छलफलमा भुसालले विद्युत् खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अब सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’
उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन । आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन, ‘विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई पर्वधनगर्नु हामी सबैको दायित्व हो । विद्युत खपत हुँदा हाम्रो पुँजि बाहिर जाँदैन ।’ नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन ।
सो अवसरमा महारथी शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपस्थित रहेका थिए ।
यस अघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेका थिए । त्यसैगरी उनले ठूला होटलका साथै रेष्टुरेन्टमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आएको छ ।

प्रतिक्रिया