वीरगन्ज नाकाबाट नौ महिनामा ६९ अर्ब रुपैयाँको नेपाली वस्तु निर्यात

काठमाडौं । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि चैतसम्ममा ३१ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी ३६ अर्ब ९४ करोड २१ लाख रुपैयाँ बढी अर्थात ६९ अर्ब ७० करोड ६७ लाख रुपैयाँ भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ। यो गत आवको तुलनामा एक सय १९.५६ प्रतिशत बढी हो ।
वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगन्जभन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिएका छन् । उनले वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा परेको बताए।
गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको पहिलो नौ महिनामा एक खर्ब २४ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको तुलनामा ३० अर्ब ६० करोड ७७ लाख रुपैयाँ बढी अर्थात् एक खर्ब ५५ अर्ब ३८ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ । -रासस

प्रतिक्रिया