स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले आज र भोलि गरी दुई दिन स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराउने मिति तोकेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम सुरु भएको छ। आज काठमाडौं महानगरपालिका, नगरपालिका र वडाका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम सुुरु भएको हो । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् छ ।
उनले राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महानगरपालिकाको मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनले काठमाडौं महानगर वैकल्पिक राजनीतिक केन्द्र हुने कुरामा आफू विश्वस्त रहेको बताइन् ।
त्यस्तै आज नै र्यापर बालेन साहले पनि काठमाडौंको मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले राजनीतिक पार्टीको ब्याकग्राउण्डबाट आउँदा पार्टीका कार्यकर्ता र व्यापारीहरुको चित्त बुझाउनु पर्ने तर स्वतन्त्र उम्मेदवारी दिँदा सबै क्षेत्रमा विकास आफ्नो किसिमबाट गर्न सकिने भएकोले स्वतन्त्र ढंगले उम्मेदवारी मनोनयन दर्ता गराएको बताए । उनले राम्रो काम गरे पनि बिरोधी पार्टी भएका कारण बिरोध नै भइरहेको भन्दै त्यसलाई तोड्न आफ्नो उम्मेदवारी रहेको बताए।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ वटा दर्ता काउण्टर निर्माण गरेर १८ ठाउँबाट मनोनयन दर्ताको व्यवस्था गरिएको छ । आज उम्मेदवारी दर्ताको पहिलो दिन भएकोले खासै धेरै उम्मेदवारी मनोनयन दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आज र भोलि गरी दुई दिन स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न समय उपलब्ध गराएको छ। आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय सीमा पनि तोकेको छ ।

प्रतिक्रिया