‘विपतबाट हुने क्षति न्यूनीकरण गर्न भौतिक संरचना निर्माणमा ध्यान दिन आवश्यक’

नेपालखोज २०७९ वैशाख १२ गते ७:००

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७औं भूकम्प स्मृति दिवसको सन्देश जारी गरेकी छन् । गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई विस २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाएका सम्पूर्णमा हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदा‚सरकारी तथा सार्वजनिक भवन‚ शैक्षिक र स्वास्थ्य संस्थाका भवन‚ निजी आवास‚ सडक र पुललगायतका भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको छ ।

यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुनर्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू र स्वयंसेवकहरू सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छन् ।

‘नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरू मध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुको मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भएता पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यत्तिकै जिम्मेवार रहेको छ । तसर्थ‚ विगतको भोगाई र अनुभवबाट पाठ सिक्दै आउँदा दिनहरूमा भूकम्प जस्ता प्राकृतिक विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न भूकम्पलाई थेग्नसक्ने भौतिक संरचना निर्माण गरिनु अति आवश्यक छ, राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।’

साथै, विपत् जोखिम न्यूनीकरणका लागि गरिनु पर्ने पूर्वतयारी एवं विपतको समयमा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा समेत समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनु पर्ने बताएकी छन् । यस कार्यका लागि संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको र यस विषयमा सम्बद्ध सबैको ध्यानार्कषण भएको जनाएकी छन् ।

प्रतिक्रिया