एसियन गेम्सका लागि खेलाडी छनोटको चटारो, नवौं राष्ट्रिय खेलकुदबाट फाइनल गरिने

काठमाडाैं । चीनमा हुने एसियन गेम्सका लागि सहभागि २३ खेलले यहि १७ गतेसम्म खेलाडीको प्रारम्भिक सूची बुझाउनुपर्ने भएको छ । जसका लागि केहि संघले छनोट गर्ने भएका छन ।
सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने प्रतियोगिताका लागि यतिबेला राष्ट्रिय खेलकुद परिषद्ले नै नेपाल ओलम्पिक संघसँग मिलेर सहभागिता जनाउने २३ संघका लागि खेलाडी छनोट गराउन निर्देशन दिन थालेको छ । जसका लागि सहभागि हुने संघका पदाधिकारीसँग छलफल गरेर प्रक्रिया अगाडी बढाउन भनेको छ ।
एसियाडका लागि प्रारम्भिक छनोटबाट अन्तिम नामावली तयार पारिनेछ । जसका लागि यतिबेला संघका पदाधिकारीलाई छुट्टाछुट्टै छलफलमा बोलाएर टुंगो लगाउने काम भइरहेको छ । अहिले २३ वटै संघले एशियाडमा जाने खेलाडीको संख्या भन्दा चार गुणा बढि खेलाडीको नाम छनोट गर्नुपर्ने बताइएको छ । यसको अर्थ संघले एक खेलाडी पठाउने हो भने चार जनाको नाम प्रारम्भिक छनोटमा राख्नुपर्नेछ ।
प्रारम्भिक सूचीमा परेका खेलाडीको नाम दर्ता गरेर अन्तिम छनोट भने गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदबाट गरिनेछ । एसियाडको प्रारम्भिक छनोटमा नपरेका खेलाडीले यदि नवौं राष्ट्रिय खेलकुदमा राम्रो गरेको खण्डमा खेल्न पाउने भएकाले सुरुवातमा लङ लिष्टको सूची संघलाई मागेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले बताए ।
अब नवौं राष्ट्रिय खेलकुदबाट एशियाडका लागि खेलाडीको अन्तिम छनोट हुनेछ । जसका कारण सहभागि हुने २३ खेल संघका लागि खेलाडीको प्रारम्भिक छनोटको चटारो बढेको छ । सबैलाई एक फर्म भराएर कति खेलाडीको सहभागिता गराउने भनेर बिबरण भर्न पनि भनिएको छ ।
नेपालबाट यो पटकको एसियन गेम्समा अनुमानित एक सय ५० खेलाडीको सहभागिता हुने बताइएको छ । केहि दिन अगाडी बसेको राखेपको बोर्ड बैठकले एसियन गेम्समा २३ खेलको सहभागिता हुने र अनुमानित खेलाडी, प्रशिक्षक र अफिसियलको तथ्यांक सार्वजनिक गरेको थियो ।
यो पटकको एसियाडमा तेक्वान्दो, कराते, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, फेन्सिङ, महिला ह्याण्डबल, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिस सहभागी हुने भएका छन् ।
यो पटकको एसियन गेम्सका लागि आयोजकले तयारी पुरा गरेको बताएका छन । जसका लागि प्रतियोगिता स्थलहरु पुरा भइसकेको बताइएको छ । ४४ वटा प्रतियोगिता स्थलहरुमा ३० वटा भएका संरचनालाई पुर्न निर्माण गरिएको हो भने १४ वटा नयाँ बनाइएको हो ।
एसियन गेम्समा यो पटक कुल ३७ वटा खेललाई सहभागि गराइनेछ । जसमा नेपालबाट २३ खेलमा भाग लिने भएको छ
प्रतिक्रिया